भरतपुर,१० जेेठ।
पश्चिम चितवनको शुक्रनगरमा लुटेराको गोली लागेर गम्भीर घाइते भएका गंगाराम महतोको मंगलबार मृत्यु भएको छ । भरतपुर महानगर वडा नम्बर २५ स्थित शुक्रनगरमा शुक्रबार राति एउटा घरका लुटपाटका क्रममा लुटेराले हानेको गोली लागेर गम्भीर भएका महतोको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको हो ।
लुटेरोको आक्रमणमा परी उनकी आमा साउनी, बहिनी रामकुमारी र श्रीमती कुन्ती घाइते भएका छन् । मुकमा नकाव बाँधेका तीन जनाको समूहले गंगारामलाई गोली हानेको थियो भने अन्यलाई रड र हम्मरले हानेर घाइते बनाएका थिए ।
सो क्रममा लुटेराले घरमा रहेको सुनको औंठी, बाला, सिक्री र केही पैसा लुटेर लगेका छन् । उक्त घटनाको अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको छ भने शंकास्पद ७ जनालाई पक्राउ गरेको प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए ।