सुरेन्द्र अस्तफल
देउता बन्न सक्दैन मान्छे
मान्छेको छातीभित्र पर्खाल बाँचेको छ
मान्छे र अहमको पर्खाल (पृष्ठः ९५)
नदीसँग मनको तिर्खा कवि राधाकृष्ण भट्टराईको २०७४ सालमा प्रकाशित कृति हो । संग्रहभित्र ४५ वटा कविता समेटिएका छन् । डर, प्रेमको मानस चित्र, टुँडिखेलमा बुद्ध, नदीसँग मनको तिर्खा, साँझको मनोवाद कविता, आशमाया, जिन्दगीको उत्सव, प्रेमफूललगायत कविता संग्रहमा छन् । कवितासंग्रहको सुरुआत डर कविताबाट सुरु गरिएको छ । नीला आकाशमा सेता सेता चराहरू देखिए भन्ने सन्दर्भबाट नेपाली जीवनमा देखिएको अस्थिरतालाई संकेत गरिएको छ । टुँडिखेलमा बुद्ध कवितामा बुद्धको शरीरलाई बलजफ्ती टुँडिखेलमा लडाएर अर्को बुद्ध जन्मिने छैन भन्ने उदघोष गरिएको छ । यसबाट एउटा भयावह दुखद अवस्थाको चित्रण पाइन्छ ।
प्रत्येक दिन
छरिँदै नाङ्लाको कनिका भुइँमा
नसोचेझैँ गरेर सोच्छु कहिलेकाहीँ त
लाग्छ
सहरको सानो कोठामा
के साँच्चै !
अटाउन सक्छ आजको जिन्दगी ।
(पृष्ठ ः२७)
सहरको सानो कोठामा जीवन व्यतित गर्न कठिन भएको यथार्थलाई सहरको सानो कोठा कवितामा प्रस्तुत गरिएको छ । मध्यमवर्गीय नेपाली जीवनको भोगाइलाई माथिको कवितामा संकेत गरिएको छ ।
पसिना र जिन्दगी भरिया जीवनको अभिव्यक्ति हो । निम्नवर्गीय जीवनका कथाव्यथालाई कलात्मक रूपमा यस कवितामा प्रस्तुत गरिएको छ । जस्तो कि,
फरक–फरक मान्छे, फरक–फरक भारी
उसको भारीमा पसिना थियो कि जिन्दगी ।
संग्रहका कवितामा प्रेमको मीठो अभिव्यक्ति पाइन्छ । सम्झना कवितामा प्रेमको अभिव्यक्ति यस प्रकारको रहेको छ ।
खुल्ला छन् आँखा
अल्झेको त्यही अनुहारमा छु
जमेको पोखरीझैँ, म कसैको प्यारमा छु ।
स्थानीय बिम्बको प्रयोग पनि कवितासंग्रहमा प्रशस्त पाइन्छन् । भाजुपोखरी कवितामा पोखरीलाई मानवीकरण गरिएको छ ।
सिद्धपोखरीसँग शतीब्दीयौँअघि पारपाचुके गरेर
एक्लो, निरस, पट्यारलाग्दो जीवन
गुजारिरहेको भूतपूर्व युवती हुँ म ।
(पृष्ठ १०१)
समग्रमा संग्रहका कविताहरूमा कवि राधाकृष्ण भट्टराई बलियो सम्भावनाका साथ आएका छन् । प्रायः कवितामा बिम्ब र प्रतीकको प्रयोग पाइन्छ । सरल भाषाशैलीमा कविता लेख्न सक्नु कवि भट्टराईको विशेषता हो ।