विजय विश्वकर्मा
वैदेशिक अध्ययनको लहर चलेको छ समाजमा । उच्च शिक्षा आर्जनका निम्ति विदेश जाने संस्कृति मौलाउँदै गएको छ पछिल्लो समय । विदेशमा पढ्नु र पढ्न पठाउनु सामाजिक अहम् र प्रतिष्ठाको रुपमा स्थापित भएको छ । प्रायः नेपाली विद्यार्थीका आँखा विदेश पढ्न जाने सपनाले सजिन थालेका छन् । झोलाभरि सपनाको भारी बोकेर उच्च अध्यनका निम्ति बेलायत पुगेका प्रवेश अधिकारीले लेखेको पहिलो उपन्यास हो ‘आधा आकाश’ । एमि इन्टरनेसनल वितरक रहेको यस पुस्तकका प्रकाशक अधिकारी आफै हुन् ।
’आधा आकाश’ उच्च शिक्षा अध्ययनका निम्ति बेलायत पुगेको एक नेपाली युवाको कथा हो । र त लेखकले उपन्यासको शिर्षकमै लेखेका छन् –आधा आकाश ‘अ टियर ४ लभ स्टोरी’ । टियर ४ बेलायत छिर्ने विद्यार्थीले प्राप्त गर्ने भिसाको नाम हो । टियर ४ ले सिर्जना गरेको अवस्था र आरोह–अवरोहलाई नै लेखकले उपन्यासको मुख्य विषयवस्तु बनाएका छन् ।
विद्यार्थी भिसामा लन्डन पुगेपछि मिठो सपना देख्दादेख्दै कसैले पानी छ्यापेर बिउँझाइदिए झै गरी जाग्छ समीर निद्राबाट । सपना त देखुञ्जेल मात्रै मिठो हुँदोरहेछ भन्ने लाग्छ समीरलाई, किनभने विपनाले बोकेर ल्याएको वास्तविक परिवेश सपनाको संसारभन्दा निकै भिन्न थियो । पढ्न भनेर विदेश पुगेका नेपाली विद्यार्थीको प्रतिनिधि पात्र हो, समीर । पढ्न भनेर विदेश पुगेका नेपाली विद्यार्थीको साझा भोगाइको उहापोह हो, आधा आकाश । पढ्न भनेर विदेश पुगेका सबै नेपाली विद्यार्थीले ‘आधा आकाश’ का प्रत्येक पानामा आफ्नै जिन्दगी पढिरहेको आभास गर्नेछन् ।
एकातिर आउँदा लागेको ऋणको भारी, आइसकेपछि बढ्दै गएको त्यो भारीको वजन अर्कातिर ! लन्डनका घर झैं चुलिन्छन् समस्याका पर्खाल । लन्डनका सडक झैं लम्बिन्छन्, आवश्यकताका लाइन । कलेजको शुल्क, अपार्टमेन्टको भाडा, खान–लाउनको जोहो, ट्राभलिङको खर्च, घर पठाउनुपर्ने बैंकको किस्ता ! विदेश टेकेकै बखतदेखि छिचोल्नुपर्ने संघर्षका जंघार हुन् यी । यीभन्दा पनि ठूलो चुनौती हुन्छ, कामको खोजी । काम पाइन्छ । तर, खोजेजस्तो काम भने गर्न पाइदैन । पाइएपनि खोजेजति गर्न पाइँदैन ।
अन्तर्राष्ट्रिय विद्यार्थीका लागि कामका सिलसिलामा सम्बन्धित देशले छुट्टै कानून बनाएको हुन्छ । बेलायतमा विद्यार्थीले वैधानिकरुपमा हप्ताको २० घन्टा काम गर्न पाउँछन् । तोकेको समयावधिभन्दा बढी काम गरेको पाइएमा त्यो गैरकानूनी ठहरिन्छ । एक दिन समीरको कार्यस्थलमा पनि प्रशासनले छापा मार्छ र समीरलाई काम गर्दैगर्दाको अवस्थामा रंगेहात समात्छ । साप्ताहिक २० घन्टाभन्दा बढी काम गरेको अभियोगमा प्रशासनले समीरलाई ‘डिटेन्सन सेन्टर’ मा राख्छ । र त्यहाँबाट सुरु हुन्छ समीरको संघर्षको अर्को श्रृंखला । आफूले पढ्दै गरेको कलेज अयोग्य ठहरिएर खारेज हुनु ! आएको १० महिनामै भिसाको म्याद सकिनु ! के कसैलाई मानसिक यातनाको यात्रामा लैजान यति कारण पर्याप्त छैनन् र ? कहिल्यै धुलो नउड्ने लन्डनका चिल्ला सडकमा समीरका सपना भने एक–एक गरी उडे । समीर भने पाइला–पाइलामा लड्यो ।
नेपालको आकाशमा स्वच्छन्द उडिरहेको पन्छी लन्डनको आकाशमा पुगेपछि उड्ने लय बिर्सिन्छ । पिजडासरह लाग्दछ उसलाई त्यो आकाश । पूरा हुँदाहुँदै पनि आधा लाग्दछ त्यो आकाशको परिधि समीरलाई । उन्मुक्त नीलो आकाश उसले गुमाइसक्यो । अब उसको भागमा बाँकी यही कालो आकाश छ । जुन आशा र उत्तेजना बोकेर समीर लन्डन आइपुगेको थियो, त्यो अब सिथिल भइसक्यो । अब उसलाई घर कुरा गर्ने पनि मन लाग्दैन । नेपालमा रहेका साथीभाइसँग संवाद गर्ने सामथ्र्य उसमा छैन । यान्त्रिक बनेको छ उसको जिन्दगी । निश्चित समयमा निश्चित काम गरिएन भने निश्चित समस्या आइलाग्ने निश्चित हुन्छ । त्यसैले कुनै यन्त्रसरह बाँच्नुको विकल्प छैन समीरसँग ।
तर, चितवनको एक युवाले लन्डनमा भोगेको दुःखको फेहरिस्त मात्रै होइन, आधा आकाश । यो त समीरको प्रेम कहानी हो । लन्डन आएको छैटौं महिनामा समीरले एउटा सुपरमार्केटमा काम पाउँछ । त्यही सुपरमार्केटमा भेट्छ उसले उपन्यासकी नायिका प्रजितालाई । जन्मघर पाल्पा भएपनि प्रजिता काठमाडौंमा हुर्केबढेकी आधुनिक केटी हो । जो सभ्य, सालिन र सुन्दरका साथै हरेक पक्षमा समीरभन्दा अगाडि छ । हरेक कुरामा आफूभन्दा आफ्नो जीवनसाथी अगाडि होस् भन्ने चाहना राख्ने समीरलाई आफ्नो खोजीको अन्त्य भएको महसुस हुन्छ । परिवार र समाजदेखि टाढा रहेको यो जोडी क्रमशः प्रेम जोडीमा परिणत हुन्छ र सँगै बस्न थाल्छ ।
‘प्रजिता मेरो को हो ? उसँगको मेरो सम्बन्ध के हो ? कसैले सोध्यो भने उ मेरो श्रीमती हो या मेरो गर्लफ्रेन्ड हो भनिदिन्थेँ । तर, जब म त्यही प्रश्न आफैले आफैलाई सोध्थेँ तब म अनुत्तरित हुन्थेँ । मसँग त्यसको कुनै जवाफ थिएन ।’ उपन्यासको प्रमुख पात्र समीरले आफ्नो र प्रजिताको सम्बन्धलाई लिएर गरेको कन्फेसन हो यो । प्रजिता र उसको सम्बन्धलाई दिने नाम उसँग छैन । तर, यहि बेनामे सम्बन्धले नै उसको जिन्दगीलाई नाम दियो । अर्थ दियो । प्रेम दियो । र अनन्तसम्म पुग्ने पीडा पनि ।
प्रसिद्ध भारतीय कवि रवीन्द्रनाथ टैगोरले भनेका छन्, ‘प्रेम एउटा अन्तहिन रहस्य हो । योबाहेक प्रेमको व्याख्या अरु केही हुन सक्दैन ।’ ‘आधा आकाश’ पढेपछि मलाई टैगोरको यो भनाइ ध्रुवसत्य जस्तै लागेको छ ।
प्रजिता एक रहस्य झैँ प्रतित हुन्छे । जति नै कोसिस गरेपनि समीरले उसलाई कहिल्यै बुझ्न सक्दैन । ‘हिँडदै जाउँ जहाँसम्म पुगिन्छ पुगौंला’ उपन्यासमा प्रजिताले धेरैपटक दोहो¥याएको वाक्य हो यो । स्वतन्त्रता र स्वाधीनताको अभिलाषा छ प्रजितामा । विवाहअघिको यौन सम्बन्धप्रति उदार छे प्रजिता । एउटा विरोधाभाष तर यथार्थ चरित्रको चित्रण गर्न खोजिएको छ प्रजितामार्फत । जस्तै उसले आफूलाई कसैले प्रदान गरेको स्वतन्त्रताको पूर्णतः उपभोग त गर्दछे तर समाजले कोरिदिएको सीमानालाई नाँघ्ने हिम्मत भने गर्दिन । यसर्थ नेपाली नारीहरु स्वतन्त्रताका पक्षपाती त हुन् तर विद्रोह गर्ने साहस भने उनीहरुमा आइसकेको छैन भन्ने देखाउन खोजिएको छ ।
यो सामाजिक सञ्जालको समय हो । सामाजिक सञ्जालको समयमा सम्बन्धहरु साह्रै सस्तिएका छन् । सम्बन्ध जोड्न सजिलो बनाइदिएका छन् सामाजिक सञ्जालले । जति चाँडो सम्बन्ध बन्दछन्, त्यति चाँडो बिग्रन्छन् पनि । पलभरमै स्थापित हुने यस्तै सम्बन्धले कहिलेकाहीँ पल–पल जिउन गाह्रो गराएर जान्छन् । किन गुमाउँदै गएका छन् सम्बन्धले सुगन्ध ? किन क्षीण हुँदै गएको छ सम्बन्धको शक्ति ? आधुनिकताका नाममा सम्बन्धप्रतिको घट्दो आस्था र श्रद्धालाई नयाँ पुस्ताको लेन्सबाट हेर्न खोजिएको छ ‘आधा आकाश’ मा ।
प्रवेश अधिकारीको भाषामाथिको दखल दयनीय छ । उपन्यासमा भाषिक कमजोरी प्रशस्त छन् । सम्पादनको अभाव टड्कारो रुपमा झल्किन्छ । कथा सुहाउँदो शब्द पाएका छैनन् अभिव्यक्तिले । उपन्यासको सबभन्दा ठूलो कमजोरी भनेको यसको गति हो । द्रुत गतिमा उपन्यास अगाडि बढेको छ । जुन गतिलाई पाठकले आत्मसात गर्न कठिन देखिन्छ । चरित्रलाई पनि लेखकले यथेष्ट शब्द खर्च गरेर स्थापित गर्न सकेका छैनन् । प्रत्येक पानामा लेखक हतारमा देखिन्छन् । प्रत्येक खण्डमा लेखकको अपरिपक्वतालाई आँकलन गर्न सकिन्छ । समग्रमा भन्नुपर्दा ‘आधा आकाश’ आधा पकाइएको र हतारमा पस्किइएको स्वादिष्ट हुनबाट वञ्चित एक परिकार हो । प्रवेश अधिकारी ५ वर्ष लन्डन बसेर रित्तै फर्किएनन् । उनले एक उपन्यासलाई पुग्ने अजस्र अनुभूति बोकेर ल्याए । तर, उनले ती अनुभूतिलाई साहित्यिक एवं औपन्यासिक सौन्दर्य भने दिन सकेनन् ।
साहित्य शब्दको कौशल हो । तर, लेखकको यही क्षमतामा नै प्रश्न उठाउने प्रशस्त ठाउँ उपन्यासले दिएको छ । यी केही भाषागत त्रुटिबाहेक उपन्यास पठनीय छ । विदेशमा पढ्न जाँदा भिसा, कलेजलगायत अन्य प्राविधिक पक्षहरुका बारेमा पर्याप्त जानकारी लिएर मात्र जानुपर्ने अन्यथा दुःख पाइने सन्देश उपन्यासले दिएको छ ।
विदेश पढ्न गएका, जान चाहने र पठाएका अथवा पठाउन चाहने अभिभावकका लागि ‘आधा आकाश’ एक छुटाउनै नहुने उपन्यास हो । साथै उपन्यासका प्रमुख पात्र समीर र प्रजिताको वियोगान्त प्रेम कहानीले पनि उपन्यासलाई मार्मिक बनाएको छ ।