विप्लव काफ्ले/कायाकैरन
भरतपुर,८ असार ।
भरतपुर महानगरपालिका दोस्रो नगरसभाको तयारीमा व्यस्त छ । यही असार १० गते आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट निर्माणका लागि महानगरमा आन्तरिक तयारीमा होमिएको छ ।
नगरसभाको पूर्वसन्ध्यामा विज्ञ समूहबाट सुझाव संकलन अभियानलाई समेत तीव्र बनाएको छ । वडातहमा जनभेला गरेर योजना माग गर्ने प्रक्रिया भने पूरा गरिसकेको छ । आगामी वर्षका लागि झण्डै ४ अर्बको बजेट बनाउने तयारीमा छ । बिहीबार आयोजित सुशासन तथा वित्तीय प्रवन्ध विषयक अन्तरक्रियामा सरकारी उच्चतहका विज्ञ कर्मचारीले सुझाव दिए । “क्रमागत योजना पूरा गर्न लागौँ”, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले भने, “नगरबासी सन्तुष्ट हुने गरी काम सम्पादन गरौँ, योजना बनाउँ ।” उनले ५ वर्षे कार्यअवधिको बाँकी ४८ महिनामा कम्तीमा ४८ वटा नयाँ काम गर्ने गरी योजना बनाउन जनप्रतिनिधिलाई आग्रह गरे ।
“जनसहभागिता रहोस्, जनभेलाबाट योजना मागौँ, स्रोतको पहिचान गरेर योजना कार्यान्वयन गरौँ”, उनले भने, “रोजगारी दिने परियोजनालाई उच्च प्राथमिकतामा पारौँ ।” उनले २९ वटै वडालाई प्रतिस्पर्धा गराएर राम्रो काम गर्ने वडालाई थप रकम निकासा गर्ने गरी कोष खडा गर्न सुझाए । उनले ५, ६, १३–१५, १८–२५ नम्बर वडामा कृषिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने बताए । १ मा भ्युटावर, २ मा नेपाल ट्रष्टको जग्गामा बोटानिकल गार्डेन, ३ मा रिभरबीच, ४ मा सार्वजनिक जग्गा संरक्षण, ७ मा वस्ती विकासको नमूना, १०, १२ मा हरियाली पार्क, १६ मा सामुदायीक वनलाई नमूना पर्यटकीय स्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
२६–२८ वडा नदी कटानको उच्च जोखिममा रहेकाले तटबन्धनका योजना, २८ मा सनसेट भ्यू विकास, २९ मा होमस्टे, व्यवसायीक बाख्रापालन तथा तरकारी खेतीलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न सुझाए । उनले अनलाइन सेवा विस्तार, पारदर्शी र जवाफदेहिता विकास गर्नुपर्ने बताए ।
नेपाल सरकारका पूर्वसचिव पूर्णचन्द्र भट्टराईले हरेक योजना तथा नीति प्रतिफलदायक र चुस्त प्रशासन हुने गरी काम गर्ने वातावरण बनाउनुपर्ने बताए । “आवधिक नगर विकास, नगर यातायात गुरुयोजना बनाउन लागौँ”, उनले भने, “महानगरलाई विकासको नमूना बनाउने गरी दिर्घकालिन सोच राखौँ ।” उनले राष्ट्रिय कम्पनीका केन्द्रीय कार्यालय, तराई हेर्ने परियोजनाका कार्यालय राख्न प्रेरित हुने गरी नीति बनाउन सुझाए । “क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गरौँ”, उनले भने, “त्योभित्र विशेषज्ञ अस्पताल पनि थप गरौँ, अन्यलाई विशेषज्ञ सेवा दिने अस्पतालका रुपमा विकास गरौँ ।”
उनले सागरदेखि शिखरसम्म, घुम्न बेसी, बस्न गाम जस्ता अभियान चलाउन सुझाए । नारायणीदेखि कालाबज्जरा क्षेत्रको नदी किनारको क्षेत्रलाई होटल क्षेत्रका रुपमा विकास गरेर पर्यटन प्रवद्र्धन गर्न आग्रह गरे । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. तिर्थराज खनियाँले चितवनमा विकासका लहर भित्र्याउन सक्रिय भूमिकाको खाँचो रहेको बताए । “प्राज्ञिक विज्ञ राखेर योजना बनाउन लागौँ”, उनले भने, “चितवनलाई समृघ बनाऊँ ।”
उनले चितवनमा त्रिविको आंगिक क्याम्पसका रुपमा इञ्जिनियरिङ पढाई हुने गरी पहल गर्न प्रस्ताव गरे । उनले चितवनमा इञ्जिनियरिङ विषयमा पढाइ हुने अवस्था आएमा धेरै सकारात्मक प्रभाव पर्ने बताए । “त्रिवि र महानगरबीच सहकार्य हुनेछ”, मेयर रेनु दाहालले भनिन्, “कुन मोडेलमा सञ्चालन गर्नेबारे छलफल गरेर पहल गरिनेछ ।” उनले विज्ञ तथा सरोकारवालाबीचको छलफलले आगामी बजेट निर्माणमा आधार बनाउन सहज भएको बताइन् । उपमेयर पार्वती शाहले विगतका कमजोरी सुधारेर बजेट बनाइने बताइन् ।