धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,७ असार ।
रत्ननगर ८ बगरटोलका दिलिप श्रेष्ठ दम्पती ४ वर्षअघि सम्म खुसीका साथ जीवन विताइरहेका थिए । होटलमा सुरक्षा गार्डको रुपमा उनले केही समय काम गरे । त्यसअघि ज्याला मजदुरी गर्नुपर्ने श्रेष्ठको दैनिकी थियो । ज्याला मजदुरीको काम छाडेर सौराहाको एक होटलमा उनले गार्डको रुपमा काम गर्न थाले ।
काम गरेको करिव ४ वर्ष पुग्नै लाग्दा उनको खुट्टामा समस्यामा देखिन थाल्यो । श्रेष्ठलाई स्वास्थ्यले साथ दिन छाड्दै गएपछि होटल धनीले उनलाई घर नजिकैको चौरमा ल्याएर छोडिदियो । “स्वास्थ्यमा समस्या देखिन थालेपछि होटल धनीले समेत हेला गर्न थाले”, विगत सम्झदै श्रेष्ठकी ५५ वर्षिया श्रीमतीले इन्दिराले भनिन्, “तेरो मान्छे काम गर्न नसक्ने भयो भनेर चौरमै छाडेर भागे ।” छारे रोगको लक्षण देखिनु र खुट्टाले समेत राम्रो संग टेक्न नसक्ने भएपछि होटलले छाडिदिएको उनको परिवारले बताएका छन् । त्यसपछि उनीहरुको जीवनमा कालो वादल लागे जस्तै भयो । कमाएर परिवार पाल्ने श्रेष्ठनै हिड्न नसक्ने भएपछि उनको जीवनमा दुःखका दिन सुरु भयो । “श्रीमानले दिनरात ड्युटी गरेर दुःख सुखका साथ विताएकै थियौँ”, उनकी श्रीमतीले भनिन्, “उहाँ(श्रीमान ) थला परेपछि दुःखका दिन कटाउन बाध्य भयौं ।”
श्रेष्ठ सुकुम्वासी समुदायका हुन् । उनको घर रत्ननगर ८ स्थित बगर टोलमा छ । खुट्टामा समस्या देखिएपछि श्रेष्ठ जेठी छोरी ज्वाईको साहारामा छन् । उपचारमा करिव ३ लाख खर्च गरिएपनि निको नभएको श्रेष्ठले बताए । “चितवनको सरकारी र निजी अस्पतालमा उपचार गराईयो तर सन्चो हुने अवस्था भएन”, श्रेष्ठले भने , “अहिले छोरी ज्वाईको साहारामा बाच्नु परेको छ ।” छोरी ज्वाई मजदुरी गर्छन् । श्रेष्ठ दिक्तेलबाट चितवन आएको २९ वर्ष भयो । लठ्ठीको साहारामा घर वरपर हिडडुल गर्न सक्ने भएतापनि काम गर्न सक्ने अवस्थामा उनी छैनन् । उपचारमा सहयोगको अपेक्षा उनमा छ । उपचारबाट रोग निको हुने आश उनमा छैन् । तर लठ्ठीकै साहारामा सामान्य हिडडुल गर्न सक्ने भएकाले वाख्रा पालेर जीविका चलाउने रहर उनमा छ ।