लेखराम सापकोटा/कायाकैरन
भरतपुर,७ असार ।
परोपकारमा रमाउने जोन कँडेल सामाजिक अभियन्ता हुन् । उनले केही वर्षदेखि विभिन्न सामाजिक गतिविधि गरिरहेका छन् । उनलाई चिन्नेले जहिल्यै उनको सक्रियता सामाजिक क्रियाकलापमै देख्छन् ।
सामाजिक अभियनका अलावा उनी व्यवसायमा पनि व्यस्त छन् । भरतपुर–३, बाह्रघरे नजिकै लंकू धारापानीमा उनको रेस्टुरेन्ट व्यवसाय छ । आफ्नै घरबारीमा सञ्चालित ‘दी ग्रीन पार्क’ एउटा पारिवारिक रेस्टुरेन्ट हो । उनी व्यवसालाई पनि सामाजिक गतिविधिमा जोडेर काम गर्न रुचाउँछन् ।
सञ्चालक जोन कँडेलले आफ्नो रेस्टुरेन्टमा वार्षिकरुपमा बिक्री हुने चुरोटको कूल खिल्लीबाट प्रतिखिल्ली २ रुपैयाँका दरले जम्मा हुन आउने रकम सामाजिक काममा प्रयोग गर्दै आइरहेका छन् । उनले यसो गर्न लागेको ३ वर्ष भयो । “चुरोट स्वास्थ्यका लागि हानिकारक छ । तर, मान्छेले चुरोट सेवन गर्न छाड्दैन”, उनी भन्छन्, “मैले यहाँ नबेचे पनि मान्छे बाहिर गएर खान्छन् ।” बरु चुरोट बेचे पनि यसबाट आउने मुनाफा सामाजिक सेवामा प्रयोग गर्ने मनसायले यो अभियान थालेको उनी बताउँछन् ।
सन् २०१४ डिसेम्बर २५ देखि रकम जम्मा गर्न सुरु गरेका उनले यसअघि दुईपटक रकम प्रदान गरिसकेका छन् । पहिलो वर्ष उनले क्यान्सर बिरामीका लागि काम गर्ने नेपाल अर्बुद रोग निवारण संस्थालाई प्रदान गरे । संस्थाको वार्षिक साधारणसभाको अवसर पारेर संस्थाका अध्यक्ष दिनेशकुमार चुकेलाई अठ्ठाइस हजार आठ सय सोह्र रुपैयाँ नगद प्रदान गरिएको थियो । दोस्रो वर्ष भने अलि धेरै रकम जम्मा भयो । उक्त वर्ष जम्मा भएको एकचालीस हजार दुई सय चार रुपैयाँ पिटुसिटु भन्ने संस्थामा टेबलटेनिस बोर्ड बनाउनलाई प्रदान गरिने उनले जानकारी दिए । सो रकमले छिट्टै नै काम सुरु गरिने उनले बताए ।
पिटुसिटु सडक बालबालिकाका लागि नागरिक प्रहरी अभियान हो । सडक बालबालिकाको संरक्षण र पुनःस्थापनाका लागि यसले काम गर्दै आइरहेको छ । तेस्रो वर्षअन्तर्गत सन् २०१६ को डिसेम्बर २५ देखि २०१७ डिसेम्बर २४ सम्म उनको रेस्टुरेन्टबाट चौध हजार चार सय सोह्र खिल्ली चुरोट बिक्री भएको छ । यस बराबरको कूल अठ्ठाइस हजार आठ सय बत्तीस रुपैयाँ चेपाङ समुदायको उत्थानमा क्रियाशील मितेरी फाउन्डेसनलाई प्रदान गरे । मितेरीका कोषाध्यक्ष राधेश्याम खतिवडालाई ग्रीन पार्कमै बोलाएर कँडेलले प्रदान गरे ।
उक्त रकम यसै फाउन्डेसनले बनाएको अक्षयकोषमा जम्मा गरिने खतिवडाले बताए । रकम हस्तान्तरण कार्यक्रममा सहभागी शिक्षासेवी तथा साहित्यकार एलबी क्षेत्रीले कँडेलको सामाजिक अभियान प्रशंसनीय भएको भन्दै सबैले उनीबाट सिक्नुपर्ने बताए । कार्यक्रममा पत्रकार रमेशकुमार पौडेल, युवा व्यवसायी ऋषि बराललगायत उपस्थित थिए ।