विप्लव काफ्ले/कायाकैरन
भरतपुर,७ असार ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. रविन खड्काले सेवा प्रवाहमा सुधार गरिने दावी गरेका छन् । अस्पतालमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, “सेवालाई चुस्त दुरुस्त र गुणस्तरीय बनाउन हाम्रो प्रयास जारी रहनेछ ।” भरतपुर अस्पतालमा नेपाल सरकारतर्फ १ सय ९५ जना र अस्पताल विकास समितिबाट ४ सय ७७ जना सहित कुल ६ सय ७२ जना चिकित्सक तथा कर्मचारी कार्यरत छन् ।
अस्पतालमा नेपाल सरकारले ३ सय शैया र विकास समितिले ३ सय शैया सञ्चालन गरेको छ । “कर्मचारी कम भएकै छ, भएकाले पनि काम नगरेको पनि हुनसक्छ”, उनले भने, “वीर अस्पतालमा ३ सय ५० शैया सञ्चालन गर्न १ हजार ५ सय कर्मचारी छन्, हाम्रोमा ६ सय शैयालाई ६ सय बढी कर्मचारी छन्, जुन अपुग छ ।” न्यूनतम ५ सय शैया स्वीकृतका लागि मन्त्रालयमा गरिएको प्रस्ताव पारित भएमा अस्पतालले ठूलो उपलब्धी हासिल गर्ने बताए । “अस्पतालको स्तर निर्धारण गरेर दरबन्दी बढाउन सके सेवा प्रवाहमा सुधार्न सकिन्छ”, उनले भने, “डाक्टर नै कमी भएर सेवा दिन कठिन भएको हो ।” स्वास्थ्य मन्त्रालयले केहि चिकित्सक करारमा भरतपुर अस्पतालमा पठाउने तयारी गरेकाले केही सजहता हुने बताए ।
भरतपुर अस्पतालमा उपचारका लागि जाने बिरामी टिकट लिन, प्रयोगशाला शुल्क बुझाउन वा रिपोर्ट लिन घण्टौं लाइनमा बस्नुपर्ने अवस्था कायमै छ । यस्तै स्वास्थ्य विमा सेवा लिन बिरामीले निकै सास्ती झेल्दै आएका छन् । “लाइन, भीड व्यवस्थापन गरिनेछ, बिरामी आउने वित्तिकै सेवा दिने वातावरण बनाइनेछ”, उनले भने, “ओपीडीमा समयमै चिकित्सक आए नआएको निगरानी हुनेछ ।” प्रयोगशालाको भिड व्यवस्थापन गर्न १ महिनाभित्रै ओपीडी र इमरजेन्सी प्रयोगशाला छुट्टाएर सफ्टवेयर मार्फत सेवा दिने तयारी भएको जानकारी दिए । उनका अनुसार २४ सै घण्टा आकस्मिक प्रयोगशाला सञ्चालनको तयारी भइरहेको छ ।
उनले बीमामार्फत सेवा लिन आउने बिरामीलाई लक्षित गरी जनशक्ति थप गर्ने तयारी भएको बताए । “इमरजेन्सी सेवा सुधार्न निकै कसरत गर्नुपर्ने देखिएको छ”, उनले भने, “अस्पतालको शैया क्षमता अनुसारको इमरजेन्सी शैया कम छ, अब छिटै थपिनेछ ।” अस्पतालमा मेडिसिन विभागमा १ सय २० शैया, स्त्रि तथा प्रसूती रोग विभागमा १ सय २० शैया, हाड जोर्नी विभागमा ६० शैया, जनरल सर्जरीमा ५० शैया, बालरोग विभागमा ७० शैया, आकस्मीक तथा अब्जरभेसनमा ३२ शैया, आइसीयुमा २०, एनआइसियुमा १२, पोष्ट अपरेटिभमा ३०, ईएनटीमा १०, न्युरो सर्जरीमा १०, मानिसिक रोगका लागि १०, सिटिभिएसका लागि १०, स्पाइनल इन्जुरीका लागि १२ शैया सञ्चालनमा छन् ।
अस्पताल स्वामित्वका जगा विनासर्त फिर्ता गर्न केन्द्रीय तहमा आग्रह गरिएको बताए । “गुरुयोजना अनुसार काम गर्न जग्गा अभाव छ, ३१ विघा मध्य ११ विघामात्रै छ”, उनले भने, “सिटिइभिटी, मेडिकल कलेज, आँखा अस्पताल लगायतले लिएको जग्गा फिर्ता गराउन लविङ भैरहेको छ, विस्तृत छलफल हुनेछ ।” उनले अस्पतालको फोहरमैला व्यवस्थापनका लागि काम हुन लागेको बताए ।