रत्ननगर,६ असार । सीमान्तकृत चेपाङ समुदायका बालबालिका आवासीय सुविधासहित अध्ययनरत रहेको रत्ननगर–११ स्थित गामेवेशीको चेपाङ संरक्षण केन्द्र खाद्यान्न अभावको समस्या झेल्दै आएको छ । चितवन र यसआसपासका जिल्लाका पहाडी क्षेत्रमा रहेका चेपाङ वालवालिकाहरुका लागि खाद्यान्नमा मात्रै मासिक ३ लाख रुपैयाँ खर्च हुँदै आएको छ ।
समय–समयमा विभिन्न दाताहरुबाट प्राप्त नगद सहयोग तथा जिन्सी सहयोगकै भरमा सो केन्द्र सञ्चालन भइरहेको छ । संरक्षण केन्द्रको स्थापनाकालदेखि नै रत्ननगर–१४ निवासी हाल वैदेशिक रोजगारीका लागि जापानमा रहेका दीपकबाबु नेपालले निरन्तर सहयोग गर्दै आइरहेका छन् । श्रम बेच्न विदेशमा रहेपनि सामाजिक उत्तरदायित्व बहन गर्दै नेपालले केन्द्रको भवन निर्माणका लागि साँढे २ लाख रुपैयाँ सहयोग गरेका थिए । त्यसयता पनि उनले सो केन्द्रका लागि महत्वपूर्ण योगदान गर्दै आएका छन् ।
मंगलबार आफ्नो जन्मदिनको अवसर पारेर चेपाङ संरक्षण केन्द्रलाई उनले नगद ९२ हजार ४ सय ४० रुपैयाँ सहयोग गरेका छन् । आमा टीकाकुमारी नेपालमार्फत केन्द्रका अध्यक्ष केपीकिरण शर्मालाई सो रकम प्रदान गरिएको हो । जापानमा च्यारिटी सोको टिकट बिक्रीबाट भएको रकम केन्द्रलाई प्रदान गरिएको टीकाकुमारीले बताइन् । एक साताअघि नेपाली चलचित्र ‘कोहलपुर एक्सप्रेस’को जापानमा च्यारिटी सो गरिएको थियो ।
“सामाजिक उत्तरदायित्व वहन गर्दै छोरा दीपकले विभिन्न समयमा सहयोग गर्दै आइरहेको छ”, उनकी आमाले टीकाकुमारीले भनिन्, “आफू पनि स्वयंसेविकाको काम गर्ने हुँदा छोराको कामप्रति खुसी छु ।” करिब १ महिनाअघि जापानमा नेपालकी छोरी दिव्याले नाचेर संकलन गरेको ४० हजारसमेत केन्द्रका बालबालिकाका लागि प्रदान गरिएको थियो । नेपालकी आमा पनि वि.सं. २०४५ सालदेखि स्वयंसेविकाको रुपमा सेवा गर्दै आइरहेकी छिन् ।
सो अवसरमा नेपालको जन्मोत्सवको अवसरमै खैरहनी माविमा स्थापित जन्मोत्सव तथा स्मृति छात्रवृत्ति अक्षयकोषलाई १ हजार २ सय रुपैयाँ कोषका संयोजक मुरलीप्रसाद गजुरेललाई प्रदान गरिएको थियो । वि.सं. २०६९ सालमा स्थापित चेपाङ संरक्षण केन्द्रमा चितवनको काउले, कोराक, लोथर, सिद्धि, चण्डिभन्ज्याङ, धादिङको ताल्ती, मकवानपुरको राक्सिराङ र गोर्खाको भुम्लीचोकका १ सय ३२ जना चेपाङ बालबालिका आवासीय सुविधासहित अध्ययन गरिरहेका छन् ।
त्यहाँका बालबालिका स्थानीय पञ्चतेज ज्योति आधारभूत विद्यालय र वैरिया माविमा अध्ययन गरिरहेका छन् । अभावका बीच पनि सो केन्द्रबाट अहिले १६ जना विद्यार्थीले उच्च शिक्षा अध्ययन गरिरहेका छन् । कृषि प्राविधिकमा ४ जना,हेल्थ असिस्टेन्ट २ जना, सिभिल ईञ्जिनियर १ जना, सिएमए १ जना र स्टाफ नर्समा ४ जनाले अध्ययन गरिरहेका चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपीकिरण शर्माले जानकारी दिए ।
यसबाहेक ४ जनाले उच्च शिक्षा सकेर रोजगारीमा समेत लागिसकेका छन् । सो केन्द्र यहाँसम्म आइपुग्न तत्कालीन डिआईजी रमेश खरेल, डा. ढुण्डीराज पौडेल, सञ्चारमाध्यम लगायत विभिन्न संघसंस्था तथा व्यक्तिहरुको महत्वपूर्ण सहयोग रहेको अध्यक्ष शर्माले बताए ।