प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ २ गते राजीनामा दिने भएका छन् । सरकार र मधेशी मोर्चासहितको संघीय गठबन्धनबीच दुई चरणमा निर्वाचन गर्ने सहमति भएअनुसार बैशाख ३१ गते पहिलो चरणको निर्वाचन सम्पन्न गरेपछि जेठ २ गते राजीनामा दिने तयारी गरेका हुन् ।
बालुवाटार निकट स्रोतकाअनुसार प्रमुख सत्तासाझेदार नेपाली कांग्रेससँगको सहमतिअनुसार प्रधानमन्त्री दाहालले पहिलो चरणको निर्वाचनपश्चात राजीनामा दिने भएका हुन् ।
प्रमुख सत्तासाझेदार नेपाली कांग्रेससँगको सहमतिअनुसार प्रधानमन्त्री दाहालले पहिलो चरणको निर्वाचनपश्चात राजीनामा दिने भएका हुन् ।
शनिबार बालुवाटारमा भएको सत्तारुढ दल र मधेशी मोर्चासहितको संघीय गठबन्धनको बैठकमा प्रधानमन्त्री दाहालले पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि आफूले कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने बताएका हुन् ।
स्रोतकाअनुसार ‘प्रधानमन्त्री दाहालले राजीनामा दिएपछि जेठको पहिलो साताभित्र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन हुने, त्यही सरकारले जेठ १५ बजेट ल्याउने र दोस्रो चरणको निर्वाचन जेठ ३१ गते गराउने सहमति भएको छ ।’
गठन हुने कांग्रेस सरकारमा मोर्चाको सहभागिता रहने सहमति भएको छ । अब आउने बैशाख १९ गते दाहाल प्रधामन्त्री बनेको नौ महिना पूरा हुँदैछ ।
सरकार र मोर्चाबीच बैशाख ३१ गतेकालागि घोषित स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने, पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशमा निर्वाचन गर्ने र बाँकी प्रदेशमा दोस्रो चरणमा गर्ने सहमति भएको छ ।
यसैगरी मोर्चासँग भएको सहमति अनुसार सरकारले परिमार्जनसहित संविधान संशोधन विधेयक फास्ट ट्रयाकबाट पास गराउने, तराईका केही जिल्लामा स्थानीय तहको संख्या थप गर्ने, स्थानीय तहको संख्या स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदनअनुसार हुने, प्रदेश सिमाकंनको विषय संघीय आयोगको प्रतिवेदनअनुसार हुने, भाषा आयोगको प्रतिवेदनअनुसार संविधानको अनुुसूचि राष्ट्रिय भाषा थपिने र मोर्चाले घोषित आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति भएको थियो ।
मधेशी मोर्चासँग सहमति भएपछि मोर्चाले निर्वाचनमा भाग लिन सहमति भएको थियो । प्रधानमन्त्री दाहालले आफू नेतृत्वको सरकारले सरकार गठन हुँदा मोर्चासँग गरिएको तीन बुँदे सहमतिअनुसार काम गर्न सकेको भन्दै जेठ २ गते राजीनामा दिने बालुवाटार बैठकमा बताएको स्रोतले जनाएको छ ।