विप्लव काफ्ले/कायाकैरन
माडी, २६ माघ ।
माडी नगरपालिकाले माडीका सबै सामुदायिक विद्यालयलाई ‘नमूना’ बनाउने प्रक्रिया सुरु गरेको छ । नगरपालिकाले यो शैक्षिक सत्रमा मावि तहसम्म पढाइ हुने ६ विद्यालयलाई नमूना विद्यालय बनाउन झण्डै १ करोड २५ लाख रुपैयाँ खर्च गर्ने योजना बनाएको छ ।
माडी नगरपालिकाको शिक्षा र स्वास्थ्य विभाग हेर्ने जिम्मेवारी पाएका माडी–८ का वडाध्यक्ष कृष्णराज अधिकारीले माडीका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकास गर्न नमूना विद्यालय कार्यक्रमले सघाउने विश्वास व्यक्त गरे । “सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउनु जरुरी छ”, उनले भने, “न्यून संख्यामा रहेका केही विद्यालय समायोजन गर्नुपर्ने देखिएको छ, नगरपालिकाले अध्ययन थालेको छ ।” माडीमा ४४ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् भने ७ वटा संस्थागत विद्यालय छन् । १२ कक्षासम्म पढाइ हुने २ वटा, १० कक्षासम्म पढाइ हुने ४ वटा, ८ कक्षासम्म पढाइ हुने ८ वटा र बाँकी ३० वटा विद्यालयमा ३ कक्षा वा ५ कक्षासम्म पढाइ हुने गर्छ । माडीमा माडी बहुमुखी क्याम्पस समेत सञ्चालनमा छ ।
भूगोल, विद्यार्थी संख्या, शैक्षिक अवस्था, संरचना, विद्यालयको गतिविधिलगायत सूचकका आधारमा विद्यालयलाई नमूना विद्यालय घोषणा गरिने छ । यस्तै अन्य विद्यालयलाई उत्कृष्ट विद्यालयका रुपमा विकास गर्ने लक्ष्य नगरपालिकाले लिएको छ । “मावि तहसम्म हामीले पहिलो चरणमा नमूना विद्यालय घोषणा गर्नेछौँ”, नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले भने, “आगामी शैक्षिक वर्षदेखि आधारभूत तह र मावि तहबीच यो कार्यक्रम गरिनेछ ।”
उनले शिक्षाका लागि नमूना माडी बनाउन नगरपालिकाले विशेष कार्यक्रम गर्ने बताए । “अबको ४ वर्षमा सबै सामुदायिक विद्यालय नमूना विद्यालय बनाइने उद्घोष गरेका छौँ”, उनले भने, “सोही अनुसार विद्यालयलाई सघाउन तयार छौँ ।” उनका अनुसार यो शैक्षिक सत्रका लागि नगरपालिकामा शिक्षा मन्त्रालय मार्फत १५ करोड रुपैयाँ शर्शत अनुदान आएको छ ।
शिक्षा स्रोतव्यक्ति टंकप्रसाद न्यौपानेले माडीमा धेरै विद्यालयको पूर्वाधार विकास गर्न धेरै बजेटको खाँचो रहेको बताए । “कम्पाउण्ड, मर्मत, नयाँ भवन बनाउनुपर्ने अवस्थाका धेरै विद्यालय छन्”, उनले भने, “पूर्वाधार विकासमा थोरै बजेटले पुग्ने अवस्था छैन ।” उनले आधारभूत तहका केही विद्यालयमा न्यून विद्यार्थी संख्या रहेकाले समायोजन गर्नुपर्ने अवस्था रहेको जानकारी दिए । निकुञ्ज रेवा खोलको किनारमा रहेको रतनी धोवाहाको विद्यालय स्थानान्तरण गर्ने प्रक्रिया सुरु भएको बताए । सो विद्यालय गत साउनमा आएको बाढीले क्षतीग्रस्त बनेको थियो । शिक्षा कार्यालय, नगरपालिकाको सहयोगमा ३ कोठे भवन बनाउने काम सुरु हुन लागेको छ ।
यस्तै बस्ती विस्थापित भएपछि अमेलियामा रहेको आधारभूत विद्यालय २ वर्षयता बन्द अवस्थामा छ । यस्तै निकुञ्ज क्षेत्राधिकारभित्र स्थापना भएका आधारभूत विद्यालय बाँदरझुला (१–८), सिरुदमार, भालुखोला, कुसुमेखोलामा रहेका कक्षा तीनसम्म पढाइ हुने विद्यालय पनि पूर्वाधार विकासको पर्खाइमा छन् । यस्तै प्राविधिक धार कक्षा चलाउने तयारी गरेका सोमेश्वर मावि र जनकल्याण मावि, जनजीवन माविमा थप कक्षा विस्तार गर्नुपर्ने अवस्था छ । माडीमा कक्षा १–५ सम्म अंग्रेजी माध्यममा पढाइ हुने विद्यालय बघौडा, दक्षिणकालिका देवेन्द्रपुरमा पनि जीर्ण भवन छन् । न्यून संख्याका विद्यार्थी रहेका आधारभूत विद्यालयमा गर्दी, चैनपुर, शिखारीपुर, इन्द्रवस्ती, राइटोल, सिधुवा, सिमरा हुन् । यी विद्यालय एकआपसमा समायोजन गर्ने तयारी छ । माडीबाट वर्सेनि उच्च शिक्षाका लागि भरतपुर जाने विद्यार्थीको अनुपात खासै घटेको छैन ।
माडी नगरपालिकाभित्र विभिन्न तहमा गरी ७ हजार ८ सय ४३ जना विद्यार्थी अध्ययनरत छन् । पूर्व प्राथमिक विद्यालयमा १ हजार २६८ जना, १ देखि ५ कक्षासम्म २ हजार ९९६ जना, ६ देखि ८ कक्षासम्म २ हजार १ सय जना, ९ र १० मा १ हजार १ सय ९३ जना र ११ र १२ कक्षामा २ सय ८६ जना विद्यार्थी अध्ययनरत छन् ।
क्रसरको आम्दानी शिक्षामा
माडी नगरपालिकाले गिटी, बालुवा, ढुङ्गा उत्खनन् गर्न क्रसर उद्योग सञ्चालन गर्ने तयारी गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज काखमा रहेको माडी नगरमा खोलाबाट निर्माण सामाग्रीको उत्खनन् हुन नसक्दा सतह वर्सेनि बढ्दै जाँदा खेतीयोग्य जमिन कटानको खतरा बढेको छ ।
“खोलाको सतह वर्सेनि बढेको छ, नगरपालिकाको आयस्रोतको बलियो सम्भावना पनि हो”, उद्योग वाणिज्य संघ माडीका अध्यक्ष रेशमलाल आचार्यले भने, “क्रसर उद्योग सञ्चालन भए पूर्वाधार विकास गर्न सहज हुनेछ ।” माडी नगर क्षेत्रका खोलामा निर्माण सामाग्री उत्खनन् गर्न वर्षमा निश्चित महिना तोकेर निकुञ्जले राजश्व संकलन गर्दै आइरहेको थियो ।
भरतपुरबाट खोलाजन्य सामाग्री लान दिने व्यवस्था भएपनि माडीबाट अन्यत्र लैजान निकुञ्जले रोक लगाउँदै आइरहेको छ । “अब क्रसर उद्योग सञ्चालन गर्न निजी क्षेत्रलाई जिम्मा दिइनेछ”, माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले भने, “निकुञ्ज प्रशासनबीच छलफल भएको छ, प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आईईई) गर्न परामर्शदाता पनि चयन गरिसकेका छौँ ।”
उनले क्रसर उद्योग सञ्चालन गरेवापत संकलन हुने राजस्व रकमलाई शैक्षिक गुणस्तर विकासमा खर्च गरिने बताए । “शिक्षा क्षेत्रमा पर्याप्त लगानी गर्न स्रोत परिचालन गर्न खोजेका हौँ”, उनले भने, “खोलाजन्य सामग्री उत्खनन्, बिक्रीबाट नगरपालिकाको आयस्रोत पनि बढ्ने अपेक्षा गरेका छौँ ।” उनले खोलाजन्य सामग्रीले माडीका विद्यार्थीको भविष्य उज्जवल पार्ने प्रक्रिय सुरु भएको बताए ।