भरतपुर, २३ चैत
लकडाउन जारी छ । सबै घरमै छौं । घरायसी सामान किन्न समस्या छ । बाटोमा हिँड्न पाइएको छैन । सरकारले लकडाउन अझै कडा बनाउने निर्णय शनिबार गरेको छ ।
बजार गएर तरकारी फलफुल किन्न पनि समस्या छ । हुन त सरकारले अत्यावश्यक सामान किन्न जानूस् नै भनेको छ । तर, अवरोध नभए पनि तरकारी र फलफुल किन्न जाँदा भीड त भइहाल्छ । जब मान्छेको भीड हुन्छ, कोरोना संक्रमणको डर हुन्छ ।
अब तपाईंले फोन गर्नुभयो भने प्याज, गाँजर र चुकन्दर तपाईंको घरमै ल्याइदिन्छ नारायणगढको हंस बहुउद्देश्यीय सहकारी संस्थाले । तर, माग भने अलि बढी हुनुपर्छ ।
हंस सहकारीले सञ्चालन गरिरहेको हंस प्राङ्गारिक कृषि फार्म तथा अनुसन्धान केन्द्रले उत्पादन गरिरहेको तरकारी तथा फलफुल सुपथ मूल्यमा बिक्री गरिरहेको सहकारी अध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिए । “हामीसँग आफैंले उत्पादन गरेको अर्गानिक उत्पादन छन्”, चुकेले भने, “बजारमा भन्दा सुपथ मूल्यमा पनि दिएका छौं ।”
अहिले हंसको कृषि फार्म फूलबारीस्थित श्रीपुरमा छ । त्यहाँ अढाइ विघा जग्गा लिएर खेती गर्दै आएको एक वर्ष भयो । त्यहाँ उत्पादन भएको प्याज, गाँजर र चुकन्दर हंसले बिक्री गर्दै आएको छ ।
शहीदचोकस्थित हंसको कार्यालयमा रहेको बिक्री केन्द्रमा गएरै वा ९८५५०५६०२५ मा सीधै फोन गरेर पनि खरिद गर्न वा माग गर्न सकिने उनले जानकारी दिए । तर, घरमै डेलिभरीका लागि २०÷२५ किलो माग हुनुपर्ने चुकेले बताए । “कुनै बस्ती वा टोलमा छिमेकमा मिलेर सामुहिक माग गर्नुभयो भने सजिलो हुन्छ”, उनले भने, “त्यसो भयो भने म गाडीमा राखेर घरमै ल्याइदिन्छु ।”
हंसले गाँजर प्रतिकिलो २५ र चुकन्दर प्रतिकिलो ७० रुपैयाँमा बिक्री गरिरहेको छ । लकडाउनको बेला कोरोनाको जोखिम लिएर बजार निस्कनुभन्दा घरै बसेर अर्गानिक सामान उपभोग गर्न चुकेले सबैलाई अनुरोध गरेका छन् । हंसमा अझै २० टन गाँजर, ७ सय किलो चुकन्दर र केही प्याज बाँकी रहेको उनले बताए ।