भरतपुर, १९ चैत
वरिस्ठ साहित्यकार प्राज्ञ उपेन्द्र पागलको निधन भएको छ । स्वासप्रस्वाससम्बन्धी राेगकाे उपचार गराइरहेका पागलको बुधबार अपरान्ह ७४ वर्षको उमेरमा आफ्नै निवास सुनसरीको मधेसामा निधन भएको हो ।
विगत लामो समयदेखि कविता, निबन्ध, कथा तथा समालोचनामा कलम चलाइरहेका उनले राजनीतिक विश्लेषक, चिन्तक एवं कलाकारका रूपमा पनि आफ्नो पहिचान बनाएका थिए । प्राज्ञ पागल २००३ साल वैशाखमा जन्मेका थिए ।
आफ्नो जीवनकालमा नेपाली साहित्यमा अनवरत लागिपरेका पागलका शीतका थोपा (खण्डकाव्य, २०४५) जीवन भागिरहेछ (कवितासङ्ग्रह, २०४६) यात्रा अलमलिरहेछ (कवितासङ्ग्रह, २०४७) गोरेटो खोजी (कवितासङ्ग्रह, २०५४) अलमलिएका पाइलाहरू (कवितासङ्ग्रह, २०६२) विश्व शाक्यका ७ हास्यव्यङ्ग्य कृतिहरूको अध्ययन र मूल्याङ्कन (समालोचना, २०६२) उपेन्द्र पागलका निबन्धहरू (२०६२) उपेन्द्र पागलका कथाहरू (२०६३) कवि श्यामकृष्ण श्रेष्ठका समग्र कृतिहरूको अध्ययन (समालोचना, २०६५) मोफसल समालोचना (कविता/काव्य, २०७०) मोफसल समालोचना (आख्यान/निबन्ध, २०७०) लगायतका दर्जनबढी कृतिहरू प्रकाशित छन् ।
त्यसैगरी उनका चक्रपथको यात्रा र आजको निर्धो मान्छे (कवितासङ्ग्रह), फलामको आली (निबन्धसङ्ग्रह), सुनसरीका झाँगड जातिको संस्कृति (अनुसन्धान) लगायतका कृतिहरू प्रकाशनकै तयारीमा छन् ।
चित्रकलामा पनि रुचि भएका उनका २०४९ देखि २०६६ सम्म विभिन्न ठाउँमा ११ पटक एकल चित्र प्रदर्शनीमा प्रस्तुत भएका छन् ।