भरतपुर, २३ फागुन
कोरोना भाइरसको सन्त्रासले एकपछि अर्को सार्वजनिक कार्यक्रम स्थगित हुने क्रममा नारायणगढमा छिट्टै सुरु हुँदै गरेको ठूलो फूटबल प्रतियोगिता स्थगित गरिएको छ । लगभग सबै तयारी सकिएको भरतपुर गोल्डकप फूटबल प्रतियोगिता अन्तिम समयमा स्थगित गरिएको छ ।
चैत पहिलो सातादेखि हुने भनिएको दोस्रो भरतपुर गोल्डकप फुटबल प्रतियोगिता तत्कालका लागि स्थगित गरिएको आयोजक एजे इन्टरनेसनलले जनाएको छ । “कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन सक्ने भन्दै स्थानीय प्रशासन, भरतपुर महानगरपालिका र राष्ट्रिय खेलकुद परिषद् ठूला प्रतियोगिताहरु नगर्न आग्रह गरेकाले तत्कालका लागि प्रतियोगिता स्थगित गरिएको छ”, प्रतियोगिता संयोजक आलोकप्रताप राणाले भने, “आमरुपमा बढेको कारोना त्रासका कारण मान्छे भेला हुने गरी कार्यक्रम गर्न सकिएन ।”
कोरोना भाइरसको त्रास कम हुँदै गएपछि अनुकूल समय मिलाएर प्रतियोगिता गर्ने राणाले भने । “सबै तयारी पूरा गरिसकेका थियौं”, उनले भने, “तर, सरकारको आग्रहका कारण हामी तत्कालका लागि प्रतियोगिता रोक्न बाध्य भयौं । तर, फेरि हामी प्रतियोगिता गर्ने नै छौं ।”
भरतपुर गोल्डकप आउँदो चैत ६ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने तालिका थियो ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउने छ । प्रतियोगिताका लागि मुख्य प्रायोजकसमेत निधो भइसकेको थियो । क्याम्पाचौरमा फूटबल मैदान सम्याउने र स्तरीय बनाउने कामको लागि आयोजकले खर्च गरिसकेको थियो । देशभर सबै प्रतियोगिता नगर्न राष्ट्रिय खेलकुद परिषद्ले अपील गरेको कारण केही समयको लागि प्रतियोगिता सारिएको प्रतियोगिताको अर्को आयोजक चितवन जिल्ला फूटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले बताए ।