शिव गौतम
इच्छाकामना, २८ पुस
इच्छाकामना गाउँपालिका–७ स्थित उपरदाङगढी किल्ला ऐतिहासिक महत्व बोकेको पर्यटकीय स्थल हो । तर, सरकारी उदासीनताका कारण यो किल्ला जीर्ण बन्दै गएको छ ।
समुद्र सतहबाट १२७५ मिटर उचाइमा रहेको उक्त किल्ला वि.सं. २०१४ साल अगाडि चितवन जिल्लाको सदरमुकाम थियो । वि.सं. १८०० तिर राजा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले निर्माण गरेको विश्वास गरिने सो किल्लामा अहिले भग्नावशेष मात्रै देख्न सकिन्छ । किल्लामा तोप तेस्र्याउन ९ वटा ठाउँ बनाइएको छ ।
किल्लाको दक्षिणतर्फको पर्खालको लम्बाइ १०९ फिट, उत्तरतर्फ १३४ फिट, पश्चिमतर्फ १०९ फिट र पूर्वतिर ६७ फिट रहेको छ । किल्लाभित्र पानीको इनार पनि बनाइएको छ । तर, १९९० को भूकम्पपछि इनार चुहिने भएको छ । उपरदाङगढीबाट सूर्योदय र सूर्यास्त हेर्न पर्यटक आउने गरेका छन् । कुहिरो नलागेको बेला यहाँबाट नारायणी नदी, भरतपुर, रत्ननगरलगायत ठाउँको दृश्यावलोकन गर्न सकिन्छ । यहाँबाट मनास्लु, गणेशलगायत विभिन्न हिमश्रृंखला पनि देख्न सकिन्छ । त्यहाँ रहेको गढी हिल कटेजका सञ्चालक रूपेन्द्र कर्माचार्यका अनुसार विभिन्न प्रजातिका चरा हेर्न पनि पर्यटक गढी पुग्ने गरेका छन् ।
हिउँदका महिनामा उपरदाङगढी घुम्न आउने पर्यटकको संख्या बढ्ने गर्दछ । त्यसैगरी अन्य विदाका दिन पनि त्यहाँ स्थानीय पर्यटकको भीड हुने गरेको छ । पर्यटकलाई रात कटाउनका लागि त्यहाँ होमस्टे सेवा पनि उपलब्ध छ । तर, पूर्वाधारको विकास सोचेअनुसार नभएकाले पर्यटक पनि सोचेको संख्यामा आउन सकेका छैनन् । उपरदाङगढीमा थोरै घरधुरी हुनाले अनि बिजुलीबत्तीको पहुँच नहुनाले पर्यटक राख्न समस्या उत्पन्न हुने गरेको होमस्टे सञ्चालक बताउँछन् ।
कर्माचार्य भन्छन्, “यहाँको बस्ती नै बाक्लो छैन । यहाँ घुम्न आउने पर्यटकलाई देखाउन भनेर सांस्कृतिक कार्यक्रम पनि राख्नुपर्ला भन्ने सोचेका हौं । तर, यो ठाउँमा नाच्न गाउन जान्ने स्थानीय जातिको नै अभाव छ ।” भौतिक पूर्वाधारको विकास गर्न सक्ने हो भने पर्यटक आकर्षण गर्न सकिने उनको बुझाइ छ । “गढीको जीर्णाेद्दार गर्न गाउँपालिकाबाट सानातिना बजेट पर्ने गरेका छन् । तर, यहाँको प्रमुख समस्या भनेको बिजुली हो । विद्युत् नहुनाले हामीले पनि होमस्टेमा बस्न आउनेलाई राम्रो सुविधा दिन पाएका छैनौं”, उनी सुनाउँछन्, “पर्यटकका लागि यहाँ आउन सहज हुने हिउँद मौसममा नै हो । वर्षामा बाटो हिलो हुने, जुका लाग्ने हुनाले पर्यटक आउँदैनन् ।”
त्यस्तै इच्छाकामना गाउँपालिकाकै अर्को पर्यटकीय महत्व बोक्ने ठाउँ सिराइचुली पहाड हो । यो चितवन जिल्लामा पर्ने सबैभन्दा अग्लो पहाड हो । जिल्लाको उत्तरी भागमा पर्ने महाभारत पर्वत खण्डमा रहेको यो ठाउँ समुद्र सतहबाट १ हजार ९ सय ४५ मिटरको उचाइमा छ । सिराइचुली पुग्नका लागि विशेष गरी दुईवटा मार्ग बढी प्रयोग हुने गरेका छन् । पृथ्वी राजमार्गको हुग्दीखोलाबाट हात्तीबाङ हुँदै सिराइचुली पुग्न सकिन्छ ।
इच्छाकामनाको हात्तीबाङदेखि सिराइचुली पुग्न करिब २ घण्टा उकालो चढ्नुपर्ने हुन्छ । भरतपुर तर्फबाट भने उपरदाङगढी, काउले हुँदै सिराइचुली पुग्न सकिन्छ । उपरदाङगढीबाट सिराइचुली पुग्न भने हिँडाइअनुसार पाँचदेखि छ घण्टासम्म लाग्छ । यहाँबाट चितवन जिल्लाका समथर भूभागसँगै उत्तर दिशामा अन्नपूर्ण, माछापुच्छ्रे, गौरीशंकरलगायत हिमाल देख्न सकिन्छ । पर्यटनका लागि उत्कृष्ट गन्तव्य हुँदाहुँदै पनि प्रचारप्रसार र स्याहारको अभावमा सिराईचुली छाँयामा परेको छ ।
सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरमा स्नातक तहमा अध्ययनरत संगिता केसी सिराइचुली ओझेलमा परेकोप्रति चिन्ता व्यक्त गर्छिन् । “लगभग ८ घण्टा हिँडेर सिराइचुलीमा पक्कै केही होला भनेर साथीहरू मिली आएका थियौं”, उनले भनिन्, “तर यसलाई खासै व्यवस्थित गर्न सकिएको रहेनछ ।” २०२० लाई भ्र्रमण वर्ष मनाउँदै गर्दा यहाँ अझै धेरै कुरा गर्न बाँकी रहेको उनले बताइन् । सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने उनी बताउँछिन् । सिराइचुलीमा केबलकार सेवा विस्तार गर्न सके पर्यटकको राम्रो उपस्थिति रहने विचार उनले व्यक्त गरिन् । अर्की विद्यार्थी मनिका विश्वकर्माले पनि सिराइचुली पछाडी परेकोमा चिन्ता व्यक्त गरिन् ।
सिराइचुली क्षेत्र वरपर बिजुलीबत्ती अभाव तथा बसाइँको प्रबन्ध नहुनाले पनि यहाँ पर्यटकको खासै घुइँचो लाग्ने गरेको छैन । यहाँ भर्खरै निर्माण गरिएको एक कोठे भवन पनि स्याहारको अभावमा कुरूप बन्दै गएको छ । सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरका सहायक प्राध्यापक दीपेन्द्र अधिकारी भन्छन्, “पूर्वाधार विकास गर्ने हो भने यो ठाउँ राम्रो पर्यटकीय गन्तव्य बन्न सक्ने थियो । पहाड चढ्न मन पराउने, हिमशृंखला र हरिया डाँडाकाँडा हेर्न मन पराउनेका लागि सिराईचुलीको आफ्नै महत्त्व छ ।” त्यसैअनुसार यस ठाउँको विकास गर्न सके पर्यटक आइरहने उनको भनाइ छ । उनी थप्छन्, “यहाँ बनाइएका फलामका पोल र खम्बा बांगिएका छन् । गिट्टी यत्तिकै थुपारिएका छन् । यस्तो देख्दा यो ठाउँलाई वास्ता नै गरिएको छैन कि जस्तो पनि लाग्छ ।”
नेपाल भ्रमण वर्ष २०२० को मौका पारेर घुमौं इच्छाकामना अभियान पनि सुरु गरिएको छ । ओझेलमा परेका इच्छाकामना गाउँपालिकाका पर्यटकीय स्थलमा पर्यटक आकर्षित गर्न पूर्वाधार निर्माणको काम थाल्न लागिएको गाउँपालिका अध्यक्ष गीता गुरुङ बताउँछिन् । “ओझेलमा परेका पर्यटकीय स्थलहरूमा पर्यटकको संख्या वृद्धि गराउन हामीले एउटा समिति पनि बनाएका छौं”, उनले भनिन्, “ती गन्तव्यमा तत्कालका लागि आवश्यक कुरा के–के हुन सक्छन् भनेर अध्ययन गरिहेका छौं ।” अधिकांश ठाउँमा खानेपानी र बिजुलीको समस्या छ । गाउँपालिकाले सकेसम्म यो वर्षभरिमा ती ठाउँमा बिजुली र खानेपानी पु¥याउने लक्ष्य लिएको उनले बताइन् । “पर्यटकलाई पदयात्राका लागि सजिलो होस् भन्ने हेतुले बाटोको व्यवस्थापन गर्ने पनि तयार गरेका छौ”, उनले भनिन् ।
इच्छाकामना गाउँपालिकामा उपरदाङगढी, सिराइचुली, लामो झरना, इच्छाकामना मन्दिर, त्रिशूली नदी (¥याफ्टिङ), जस्ता पर्यटकीय स्थलहरू रहेका छन् । ती स्थानसम्म पुग्न प्रयोग गरिने मार्गलाई व्यवस्थित गर्दै त्यहाँ भौतिक पूर्वाधारको विकास गर्ने हो भने सन् २०२० मा २० लाख पर्यटक भित्राउने सरकारको लक्ष्य पूरा गर्न चितवनले पनि थोरै भूमिका खेल्ने थियो ।