विप्लव काफ्ले
भरतपुर, १३ मंसिर
एचआईभी संक्रिमित भइसकेपछि शरीरमा भाइरस फैलिन नदिन नियमित ‘एआरभी’ औषधि सेवन गर्नुपर्छ । स्वास्थ्य संस्थामा यो औषधि निःशुल्क पाइन्छ । एचआईभी भाइरसले रोगसँग लड्ने क्षमता घटाउने भएकाले अन्य रोगको संक्रमण हुने जोखिम बढ्छ । असुरक्षित यौन सम्पर्क, रगत, संक्रमित आमाबाट जन्मेका बच्चामा एचआईभी सर्ने खतरा बढी हुन्छ ।
तर, चितवनमा धर्म र विज्ञापनका कारण केही संक्रमित व्यक्तिले एआरभी औषधि खानै छाडेका छन् । भरतपुर अस्पतालको एरआरटी सेन्टरबाट नियमित औषधि लिदै आएका १३ जनाले १० महिना यता औषधि खानै छाडेका छन् । “घरमै पुगेर सम्झाउने प्रयास पनि गरेका छौँ”, एआरटी सेन्टरका संयोजक तथा एड्स हेल्थकेयर फाउण्डेशन (एएचएफ) का क्षेत्रीय संयोजक कृष्णहरी सापकोटाले भने, “एआरभी औषधि नियमित खाने बनाउन लागिरहेका छौँ ।”
एआरभी औषधि संक्रमितले जीवनभर हरेक राती सुत्नेबेला खानुपर्छ । स्रोतका अनुसार औषधि खान छाडेका मध्ये ‘पितापरमेश्वर’ ले निको बनाइदिने भ्रममा परेका ८ जना, आर्युवेदिक औषधि लिने ४ जना र १ जना मदिरा सेवन गर्ने छन् । ललितपुर पुगेर एक महिनालाई पुग्ने आर्युवेदिक औषधिका लागि ३२ हजारसम्म खर्च गर्ने गरेको पाइएको छ । “नियमित औषधि सेवन गरेमा जीवन लम्बिन्ध, साधारण व्यक्ति सरह बाँच्न सकिन्छ”, उनले भने, “प्रचार र भ्रममा पर्दा शरीर झन जोखिममा पुग्ने अवस्था बनेको छ ।” औषधि छाड्नेहरु ८ वर्षदेखि ४ वर्षसम्म एआरभी औषधि लिएकाहरु छन् । “संक्रमित भएका केहीले अत्याधिक रक्सी सेवनकै कारण मृत्युसम्म पुगेका छन्”, संयोजक सापकोटाले भने, “उपचारमा वेवास्ता गर्दा ज्यान गुम्छ ।”
भरतपुर अस्पतालका फिजिसियसन डा. कल्याण सापकोटले ४–५ महिना औषधि लिएर ठिक भएको भनेर छाड्ने पनि केही संख्यामा रहेको बताए । “औषधि खान नछोडुन भनेरै हरेक महिना अस्पतालै बोलाउने गरेका छौँ”, उनले भने, “थप संक्रमण हुन नदिन बेलाबखत आवश्यक परीक्षण पनि गर्दै आएका छौँ ।” उनका अनुसार एचआईभी पत्ता लागेको सुरुको २ हप्ताको लागि औषधि दिइन्छ । त्यसपछि एक महिना पुग्ने गरी औषधि दिइन्छ । मासिकरुपमा आउन नसक्नेलाई ३ देखि ६ महिनासम्मको औषधि दिइन्छ । “जथाभावी अन्य औषधिको प्रयोगले जोखिम बढाउँछ, ‘एआरभी’ औषधिनै राम्रो औषधि हो”, उनले भने, “नियमित औषधि खान हेलचक्राई नगरौँ ।” उनले रोगले धेरै गालेको, अन्य संक्रमण भएकाले केही महिना औषधि लिएर सुधार भएपछि छाड्नु गलत भएको बताउँछन् ।
१० महिनामा ८० जना संक्रमित
भरतपुर अस्पतालको एआरटी सेन्टरमा पछिल्लो १० महिनामा ८० जना नयाँ एचआईभी संक्रमित उपचार गर्न आएका छन् । अस्पताल र समुदायस्तरमा १३ हजार ६ सय २५ जनाको एचआईभी परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् । जसमध्ये ४३ जना पुरुष, ३५ जना महिला र २ जना बालबालिका छन् ।
एचआईभी र टिबी लागेका २१ जना छन् । यो वर्ष १ सय १६ जनाले एआरभी औषधि लिन सुरु गरेका छन् । सन् २०१९ मा ९ जनाको मृत्यु भएको थियो । जसमध्ये रक्सी सेवन, लिभर र मुटु रोगी, टिबि भएका संक्रमित थिए । सन् २००७ देखि २०१९ सम्म १ हजार ७ सय ९३ जना बिरामीको अभिलेख राखिएको छ । सन् २०१८ मा १ हजार १ सय ११, सन् २०१७ मा ९३ जनामा संक्रमण देखिएको थियो । गतवर्षको एक अध्ययनले नेपालमा २९ हजार ८ सय ७८ जना संक्रमित रहेको अनुमान गरेको थियो । जसमध्ये १८ हजार ७ सय २ जना मात्रै पहिचान भएका छन् । सन् २०१८ मा नेपालमा ८ सय ७० जना संक्रमित फेला परेका थिए ।
एचआईभी जोखिम रोक्न ‘पीईपी’
एचआईभी सर्न नदिन ‘पीईपी’ उपचार पद्धति भरतपुर अस्पतालमा सुरु भएको छ । सम्भावित जोखिम अवस्था रोक्न अस्पतालले पीइपी उपचार पद्धति सुरु गरेको छ । गतवर्ष १५ जनाले यो सुविधा लिएका छन् । यो वर्ष ५ जनाले लिइसकेका छन् । बलात्कार वा अन्य असुरक्षित यौन सम्पर्क भएको अवस्थामा ७२ घण्टाभित्र पीइपी उपचार गरेमा संक्रमण कम हुने अपेक्षा छ ।
यो औषधि २८ दिनसम्म लिनुपर्छ । ‘प्रेप’ र ‘पीइपी’ उपचार विधिले संक्रमण क मगर्न सघाउने डा. कल्याण सापकोटाले बताए । “असुरक्षित यौन सम्पर्क भएमा वा शंका लागेमा उपचार विधि अपनाउन सकिन्छ”, उनले भने, “पार्टनर संक्रमित भएमा वा आशंका लागेमा पनि उपचार लिन सकिन्छ ।” संक्रमितको उपचार गर्ने क्रममा रगत वा सर्न सक्ने ‘फ्ल्युड’ शरिरमा प्रवेश गरेको शंका लागेमा ‘पीइपी’ उपचार विधि अपनाउन सकिने बताए । वैदेशिक रोजगारीबाट फर्किएका, यौनकर्मी महिला, समलिंगि, लागुऔषध प्रयोगकर्ता संक्रमणको उच्च जोखिममा छन् ।
विश्व एड्स दिवसमा एचआईभी परीक्षण
३२ औँ विश्व एड्स दिवसको अवसर पारेर भरतपुरका केही ठाउँमा एचआईभी परीक्षण गरिने भएको छ । आज (शनिबार) भरतपुर कारागारभित्रका कैदीबन्दीको एचआईभी परीक्षण गरिदै छ । यस्तै आइतबार भरतपुर–७ क्यान्सर अस्पताल अगाडी होटल व्यवसायी, बजार व्यवस्थापन समिति, टोलसुधार समिति लगायतको सक्रियतामा एचआईभी परीक्षण कार्यक्रम गरिने भएको छ ।
यस्तै विश्व एड्स दिवसको कार्यक्रम आइतबारनै भरतपुर अस्पतालमा विहान ७ बजे उद्घाटन कार्यक्रम हुनेछ । यस्तै भरतपुर अस्पताल, मालपोत चोक, विशाल चोक, गणेशस्थानसम्म अटो ¥याली निकालिने छ । कण्डम बाड्दै एचआईभी एड्स विरुद्धका जनचेतना पम्पेलेटहरु वितरण हुनेछन् । स्वास्थ्य कार्यालय चितवन, भरतपुर अस्पताल, एचएफ नेपाल, भरतपुर महानगर स्वास्थ्य शाखा लगायत सहभागी हुनेछन् ।