ध्र्रुवराज खनाल
रत्ननगर, ४ कात्तिक
किसानले उत्पादन गरेको तरकारी तथा फलफूलको उचित मूल्य दिलाउन चितवनमा तरकारी र फलफूलको संकलन केन्द्र निर्माण गरिएका छन् । संघीय सरकारको सहकारी बजार विकास कार्यक्रमअन्तर्गत चितवनमा ६ वटा तरकारी तथा फलफूलल संकलन केन्द्र निर्माण गरिएका हुन् ।
बाँकी ६ वटा यसैवर्ष निर्माण गरिने सहकारी बजार विकास कार्यक्रमका फोकल पर्सन तथा जिल्ला सहकारी संघ चितवनका उपाध्यक्ष हरिप्रसाद पौडेलले जानकारी दिए । चितवनको राप्ती, कालिका र रत्ननगर नगरपालिका यो कार्यक्रमका लागि छनौट भएका छन् । प्रत्येक नगरपालिकामा ४–४ वटा कृषि सहकारी संस्थामा तरकारी तथा फलफूल संकलन केन्द्र निर्माण गर्न लागिएको हो ।
राप्ती नगरपालिकाको साना किसान कृषि सहकारी संस्थामा निर्माण गरिएको केन्द्रको आयव्यय सार्वजनिक गरिएको छ । राप्ती नगरपालिका प्रमुख प्रभा बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भवन निर्माण समिति संयोजक एवं सहकारीका उपाध्यक्ष बालानन्द कँडेलले आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
कूल १५ लाख ७७ हजार ३५० रुपैयाँमा तरकारी संकलन केन्द्र निर्माण गरिएको हो । जसमध्ये ४ लाख ७३ हजार २०५ रुपैयाँ साना किसान कृषि सहकारी संस्था र बाँकी ११ लाख ४ हजार १४५ रुपैयाँ अनुदान रकमबाट केन्द्र निर्माण गरिएको सहकारीका मुख्य प्रबन्धक पुष्पराज रानाले जानकारी दिए । केन्द्र सँचालनपछि तरकारी र फलफुलमा प्रयोग हुने विषादी विस्तारै न्यूनीकरण हुने र किसानले व्यापारी खोज्दै जानु पर्ने बाध्यताको अन्त्य हुने सहकारी बजार विकास कार्यक्रमका फोकल पर्सन पौडेलको विश्वास छ । पहिलो चरणमा चितवनसहित मकवानपुर, धादिङ, नुवाकोट, ललितपुर, काभ्रे जिल्लामा सहकारी बजार विकास कार्यक्रम लागू भएको छ ।
चितवनमा ६ वटा तरकारी संकलन केन्द्र निर्माण
चितवनमा ६ वटा तरकारी संकलन केन्द्र निर्माण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस