विनोदबाबु रिजाल
भरतपुर, २८ असोज
चितवनमा बेलामौका ठूलास्तरका फूटबल प्रतियोगिता भइरहन्छन् । ठूलास्तरका खेल गर्न मेहनत त चाहिन्छ नै, मैदान बनाउनै हम्मे पर्छ ।
यहाँको स्तरीय फूटबलका लागि नारायणगढको क्याम्पाचौर सबैभन्दा उपयुक्त चौर हो । तर, जब–जब राष्ट्रिय प्रतियोगिता आउँछ, आयोजकलाई तनाव हुन्छ कि चौर कसरी तयार गर्ने । क्याम्पाचौर बालकुमारी माध्यमिक विद्यालयको स्वामित्वमा छ । यहाँ हरेकखाले सार्वजनिक कार्यक्रम हुने गरेका छन् । क्रिकेट यहीं खेलिन्छ । गाडी यहीं सिकिन्छ । कन्सर्ट यहीं गरिन्छ । मेला महोत्सव गर्ने थलो पनि यही हो । हरेक कार्यक्रम गरिएपछि चौर हेरिसाध्य हुन्न । अनि फूटबल आयो कि लाखौं खर्चिनुपर्ने हुन्छ । “ठूलो बिडम्वना नै यही हो”, भोलिदेखि टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिता गर्न लागेको नारायणगढ जेसीजका अध्यक्ष विकासमान श्रेष्ठ भन्छन्, “हरेक खेल गर्नेबेला मैदान सम्याउनमै पैसा खेर जान्छ ।” यसपालिको प्रतियोगिताका लागि मैदान सम्याउन, हरियो बनाउन, चारैतिर कम्पाउण्ड लगाउन र अस्थायी प्याराफिट हाल्नका लागि करिब ८ लाख खर्च भइसकेको उनले बताए ।
“यहाँ जस्तो भएपछि रंगशाला निर्माण गर्न पाए यस्तो बाध्यता हटेर जान्थ्यो”, उनले भने, “प्रतियोगिता सकिएलगत्तै हामी नै त्यसका लागि पहल गर्नेछौं ।”
दशकौंदेखि नारायणगढको क्याम्पाचौर फूटबलका लागि चर्चित छ । ४ दशक लामो इतिहास बोकेको विकास रनिङ शिल्ड फूटबल यही मैदानबाट सुरु गरिएको हो । क्याम्पाचौरमा फूटबल हुने भनेपछि हेर्न आउने थुप्रै हुन्थे । केहीअघि यहाँ गरिएको नेपाल कप फूटबलको उद्घाटनमा आउँदा अखिल नेपाल फूटबल संघ (एन्फा) का तत्कालीन अध्यक्ष गणेश थापाले भनेका थिए, “४० वर्षअघि म फूटबल खेल्न आउँदा पनि चौर थियो, अहिले पनि मात्रै चौर छ ।” उनले यो अवस्था देखेर दुःख लागेको भन्दै रंगशालाको लागि पहल गर्ने बताएका थिए । तर, उनको पद पनि खुस्कियो, उनको पहल पनि त्यसपछि सुनिएन ।
“निकै दुःखको कुरा छ, खेल गर्ने भनेपछि मैदानले टाउको खान्छ”, चितवन जिल्ला फूटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले भने, “प्रतियोगिता गर्न पुग्ने पैसाजति मैदानमै जान्छ ।” यसले गर्दा प्रतियोगिताका लागत ह्वात्तै बढ्ने गरेको उनले बताए ।
विकास शिल्ड समितिका उपाध्यक्ष पुष्प श्रेष्ठलाई हिजोआज फूटबलको अवस्था देखेर दुःख लाग्छ । “खेल्नेभन्दा बाहेक कमैलाई मात्र चासो छ”, उनले भने, “रंगशाला बनाउने, खेल मैदान सुधार्ने, खेलाडी उत्पादन गर्नेमा दुःख गर्न खोज्दैनन् ।” हिजोका दिनमा विकास रनिङ शिल्ड गर्दाको माहोल सम्झिँदा उनी भावुक हुन्छन् । “विकास रनिङ शिल्डको बेग्लै चर्चा हुन्थ्यो”, उनले भने, “जहाँ जाँदा पनि विकास रनिङ शिल्ड कहिले गर्ने हो भनी सोध्थे ।”
तर, अहिले प्रतियोगिता गर्नै पनि धौ–धौ पर्ने गरेको छ । उनलाई सम्झना छ । निकै आरोह अवरोह पार गरेर विकास रनिङ शिल्ड ११ औं संस्करण सम्पन्न गरियो । शाही औषधि लिमिटेडसँग शिल्ड थियो । १२ औं संस्करण दशकभन्दा बढी समयसम् मगर्न सकिएन । केहीले तताए । गरौं न त भन्ने भयो । तर, शिल्ड फिर्ता ल्याउन १५ हजार बक्यौता थियो । “कहाँबाट ल्याउने भन्ने भयो”, उनले सम्झिए, “आ–आफैं तिरेर ल्याइयो ।” त्यसपछि २ संस्करण भएको विकास रनिङ शिल्डले खर्च पु¥याउन पनि सकेन । अनि फेरि थन्किने अवस्थामा पुग्यो । यसपालि भने नारायणगढ जेसीजले प्रतियोगितालाई आफ्नो नामसमेत जोडेर अघि बढाएको छ । “प्रतियोगितालाई दराजमा राखेर हुँदैन”, विकास शिल्ड समितिका अध्यक्ष श्याम पियाले केहीअघि भनेका थिए, “मुख्य कुरा खेल हुनुपर्छ भनेर नै हामीले प्रतियोगिता युवालाई जिम्मा लगाएका हौं ।”
क्याम्पाचौरको अवस्था सुधारको चर्चा नचलेको होइन । मिनी स्टडियमको कुरा पनि चल्ने गर्छ बेला–बेलामा । तर, चर्चा मात्रै हो । बालकुमारी मा.वि.को स्वामित्वमा रहेका कारण अरुले आफूखुसी चलाउन पाउने कुरा भएन । उद्योग वाणिज्य संघले अगुवाइ गरेर मिनी स्टडियम चलाउन खोजेको हो । त्यसमा पनि प्रगति भएन । तर, हाल स्वर्ण महोत्सव मनाइरहेको बालकुमारी मा.वि.का प्रधानाध्यापक नारायणबहादुर थापाले केहीअघि एक कार्यक्रममा भनेका थिए, “मिनी स्टडियममा हामी सकारात्मक छौं, कुरा बरु माथिबाटै रोकिएको छ ।”
फूटबल संघ अध्यक्ष कार्की खेल विकासका लागि पूर्वाधार चाहिने र त्यो जसले बनाए पनि हुने बताउँछन् । “खेल गर्ने बेलामा समय र पैसा दुबै मैदानले खाएपछि स्तरीय खेल गर्न स्रोत पुग्दैन”, उनले भने, “समस्या त भइहाल्छ नि ।”