राजेश घिमिरे
राप्ती, १४ असोज
शीर्षक देख्दा अचम्म लाग्नु स्वाभाविकै हो । चितवनको हकमा त सुँगुर काटेर घर बनाउने विषय अनौठो नै लाग्न सक्छ । तर, यो वास्तविकता हो ।
चितवनको राप्ती–१३ का स्थानीय प्रायःले आफ्नो घर निर्माणको क्रममा सुँगुर मात्रै गुमाएका छन् । विगतमा खरले छाएका साना झुपडीमा बस्दै आएका यहाँका स्थानीयले अहिले घरलाई व्यवस्थित बनाउन थालेका छन् ।
स्थानीय कानबहादुर प्रजाले करिब पाँच वर्ष लगाएर घर ठडाएका छन् । बनाएर अझै सकिएको छैन । ढुंगाको गारो लगाउन बाँकी नै छ । यो अवधिमा कानबहादुरले तीन वटा सुँगुर काटे ।
चेपाङ समुदायको बासोबास रहेको कान्दामा घर बनाउँदा पर्म लगाउने चलन छ । सबै काम गाउँले मिलेर गर्छन् । कानबहादुरले घर निर्माणको क्रममा रुख काट्दा, ओसार्दा र घर बनाउन जग हाल्न सुरु गर्दा तीन पटक सुँगुर काटे । अहिलेसम्म गरेको खर्च यही नै हो । “६० जनाले पर्म लगाए, अहिले म पर्म तिर्दैछु”, ६० वर्षीय कानबहादुरले भने, “पर्ममा आउने खेतालालाई सुँगुर काटेर खुवाउनुपर्छ । साथमा रक्सी पनि खुवाउनुपर्छ ।” रक्सी उनकी श्रीमतीले घरमै बनाउँछिन् । उनले अहिलेसम्म ६ जनाको मात्रै पर्म तिरेर सके । “अब एउटा सुँगुर भए घर बन्छ”, उनले सुनाए । उनको घर टिनले छाइएको छ । टिन तथा किल्ला काँटीका लागि गैरसरकारी संस्थाहरुले सहयोग गर्ने गरेका छन् । लक्ष्मी प्रतिष्ठान नामक संस्थाले यस क्षेत्रमा घर निर्माणका लागि सहयोग गर्दै आएको छ । आवश्यक पर्दा उनकी छोरी शन्तमायाँ प्रजाले पनि सहयोग गरेकी छन् ।
स्थानीय सीताबहादुर चेपाङलाई अहिले घर बनाउने चटारो छ । पुख्र्यौली घर भूकम्पले भत्काइदिएपछि एक कोठे झुपडीमा जीवन बिताउँदै आएका सीताबहादुर यो साल जसरी भएपनि नयाँ घर बनाइ छाड्ने तयारीमा छन् । यसका लागि उनले दुई वटा सुँगुर तयारी अवस्थामा राखेका छन् । घर निर्माणका लागि रुख काट्ने र बोक्ने समयमा उनले एउटा सँुगुर काटेर भोज खुवाइसके । “बोकेर अझै सकिएको छैन । सबै सामान ओसारेर सकेपछि र घर बनाइसकेपछि फेरी भोज खुवाउने हो”, उनले सुनाए ।
५५ वर्षीय सीताबहादुर पनि पर्म तिर्न आफैं जान्छन् । “टिनको छाना मुनि बस्ने ठूलो रहर छ”, उनले भने, “सकेसम्म यही सुँगुर काटेर नै घर बनाउने हो । केही पैशा चाहियो भने पनि टिनले छाएको घर चाहि बनाउने हो ।”
छिमेकीलाई दुःख पर्दा सकेको सहयोग गरौं भन्ने भावना सबैमा रहेको स्थानीय चेकराम प्रजा बताउँछन् । उनले पनि पर्म लगाएरै घर बनाएर सके । “आफ्नो घर बनाइसकेर मात्रै भएन । सबैको बनाउनुप¥यो । सबै मिलेर व्यवस्थित घर बनाउन लागेका छौं”, उनले सुनाए । घर निर्माणको काममा जाँदा कसैले पनि पैसा नलिने गरेको बताउँदै उनले भने, “मेरो घर पनि यसरी नै बन्यो । अरुको पनि यसरी नै बनाउने हो ।”
केही वर्ष अघिसम्म पनि बस्ने घर नभएको चेपाङ बाहुल्य डाँडाहरुमा अहिले तलैबाट टिनको छाना टिलिक्क टल्किएको देखिन्छ । “उनीहरुमा पनि बस्ने व्यवस्था राम्रो गर्नुपर्छ भन्ने चेतना आयो, विद्यालय आउने केटाकेटीमार्फत पनि अभिभावकले धेरै कुरा सिकिरहेका छन्”, स्थानीय शिक्षक वालकृष्ण थपलियाले भने, “उनीहरुका बिचमा देखिएको एकताले पनि आवास निर्माणमा सहज भएको छ ।”
यस क्षेत्रमा बसोबास गर्नेहरुको आर्थिक अवस्था निकै कमजोर छ । उनीहरुमध्ये केहीले अचेल बारी तथा खोरियामा तरकारी उत्पादन गर्ने, बाख्रा, कुखुरा पाल्ने तथा हस्तकलाका सामग्री निर्माण गर्ने गरेर आयआर्जन गर्न थालेका छन् । नयाँ पुस्ताका युवाहरु प्रायः रोजगारीका लागि खाडी मुलुक पुगेका छन् । “पैसा कमाउन छोराहरु विदेश गए भनेर खुसी लागेको थियो । तर, कमाइ सबै ऋण तिर्दैमा सकिने रहेछ”, सीताबहादुर चेपाङ भन्छन्, “छोराहरुले कमाए पनि आफ्नो व्यवस्था गर्लान्, हाम्रो व्यवस्था त हामी आफैँ गर्नुपर्छ भनेर बुढेसकालमा मेहनत गर्दैछु ।”