विप्लव काफ्ले
भरतपुर, ६ असोज
निजी क्षेत्रको प्रयासमा ठुलो स्तरको प्रतियोगिता ‘विकास रनिङ शिल्ड’ जोगाउने प्रयास सुरु भएको छ । प्रतियोगिता सञ्चालनका लागि आर्थिक स्रोत जुटाउन कठिन परेपछि नियमित हुन नसकेको रनिङ शिल्ड प्रतियोगितालाई बचाउन नारायणगढ जेसीजले कदम चालेको छ ।
०७४ सालमा १३ औं संस्करण पछि रोकिएको रनिङ शिल्ड प्रतियोगिता जेसिजले यो वर्ष गर्न लागेको हो । जेसीज विकास रनिङ शिल्डका रुपमा राष्ट्रिय फुटबल प्रतियोगिता गर्न लागिएको छ । नारायणगढ जेसीजका अध्यक्ष विकासमान श्रेष्ठले चितवनमा खेलकुद क्षेत्रको विकासमा रनिङ शिल्ड बचाउन लागिएको बताए । “जेसीजले अब ५ वर्ष विकास रनिङ शिल्ड प्रतियोगिता गर्ने सम्झौता गर्नेछ”, उनले भने, “यो वर्ष पहिलो संस्करण हुनेछ ।” नारायणगढ जेसीजले ०७४ सालमा प्रथम जेसिज कप गरेको थियो । जेसिज कपको मनाङ मस्र्याङदी क्लबले उचालेको थियो । “जेसीज कप र रनिङ शिल्ड गराउन आर्थिक स्रोत जुटाउन निकै कठिन थियो”, उनले भने, “दुवै प्रतियोगितालाई अब एउटै प्रतियोगिताका रुपमा गर्न लागेका छौँ, प्रतियोगिता व्यवस्थित गर्न सहज र प्रभावकारी हुनेछ ।”
उनका अनुसार यही असोज ३० गतेदेखि कार्तिक ९ गतेसम्म क्याम्पाचौरमा प्रतियोगिता हुनेछ । प्रतियोगिता मूल संयोजक कपिल श्रेष्ठले प्रतियोगितामा १० टिम सहभागि हुने जानकारी दिए । जसमध्ये ८ वटा ए डिभिजन क्लब र २ वटा क्षेत्रीय क्लब सहभागि हुनेछन् । मनाङ मस्र्याङदी क्लब, शशस्त्र प्रहरी बल, फ्रेण्डस् क्लब, आर्मी क्लब, जावलाखेल क्लब, संकटा क्लब, नेपाल पुलिस क्लब, सरस्वती क्लब सहभागि हुनेछन् । यस्तै चितवन–११ र मकवानपुर–११ सहभागि हुनेछन् । प्रतियोगिताको विजेतालाई ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ नगद सहित शिल्ड प्रदान गरिनेछ । यस्तै उपविजेतालाई ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ नगद पाउनेछन् ।
विकास रनिङ शिल्ड समितिले २०३१ सालदेखि प्रतियोगिता सुरु गरेको थियो । ०७४ मा १३ औं संस्करण थ्रीस्टार क्लब, ०७३ मा १२ औं संस्करण संकटा क्लबले जितेका थिए । तीन वर्ष लगातार उपाधि जितेमा शिल्ड आफ्नो बनाउन पाइन्छ । तर, कुनै क्लबले लगातार ३ पटक उपाधि जित्न सकेका छैनन् । ०३१ सालमा शारदानगर फुटबल टिम, ०३२ मा सुनाखरी फुटबल टिम काठ्माण्डौ, ०३६ मा पाल्पा ११ले जितेका थिए । जनकपुर चुरोट कारखानाको फुटबल टिम र चितवनको नारायणी फुटबल मण्डलले २–२ पटक उपाधि जितेका थिए । “टिम, खेलाडी हेरेर टुर्नामेण्ट हेर्न दर्शक आउँछन्”, विकास रनिङ शिल्ड समितिका अध्यक्ष श्याम पियाले भने, “पुरस्कार जति ठुलो हुन्छ, त्यतिनै राम्रा क्लब सहभागि हुन्छन्, प्रतियोगिता गर्न बलियो ‘फण्ड’ चाहिन्छ ।” उनले स्तरीय खेल आयोजना गर्न आर्थिक स्रोत जुटाउन कठिन हुने भएकाले युवाहरुको संस्था जेसिजसँग सहकार्य गरिएको बताए । “खेल आयोजना हुनुपर्छ, नाम भन्दा काम हुनुपर्छ”, उनले भने, “इतिहास बचाउने भन्दा खेल बचाउने प्रश्न ठुलो हुन्छ, खेललाई दराजमा थन्काउनुहुदैन ।” उनले विकास रनिङ शिल्डको इतिहास मेटिन लागेको नभई बचाउने प्रयास भइरहेको दाबी गरे । उनका अनुसार विकास रनिङ शिल्डलाई सुरुवातदेखिनै व्यवसायीक उन्मुख बनाउँदै लगिएको छ ।
यसपालिको रनिङ शिल्ड प्रतियोगिताबाट बचत भएको रकम मध्ये ४० प्रतिशत क्याम्पाचौर खेल मैदान सुधार गर्न, ३० प्रतिशत नारायणगढ जेसीजलाई, २० प्रतिशत गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न, १० प्रतिशत चितवन फुटबल संघलाई उपलब्ध गराउने योजना छ । प्रतियोगिता दिउसो साढे ३ बजेदेखि सुरु हुनेछन् । दर्शकलाई १ सय र २ सय रुपैयाँका टिकटको व्यवस्था छ ।