राजेश घिमिरे
भरतपुर, २५ भदौ
डेंगेको संक्रमण बालबालिकामा पनि बढ्दो क्रममा छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकानुसार चितवनमा बुधबार साँझसम्ममा १ हजार ५ सयभन्दा बढीमा डेंगे संक्रमण देखिएको छ । जसमध्ये १० प्रतिशतभन्दा बढी बालबालिका रहेका छन् । वयस्क पुरुषमा यसको संक्रमण सबैभन्दा बढी देखिएको भएपनि महिला, बालबालिका तथा वृद्धवृद्धामा पनि संक्रमण बढ्दो क्रममा देखिन्छ ।
चिकित्सकहरुका अनुसार एडिस एजिप्टाई नामको पोथी लामखुट्टेको टोकाइबाट देखिने डेंगे संक्रमण दिउँसोको समयमा बढी चहलपहल गर्ने व्यक्तिमा अत्यधिक देखिएको छ । दिउँसो तथा साँझको समयमा खेल्न घर बाहिर निस्कने बच्चाहरुमा पनि संक्रमण धेरै देखिन थालेको छ । भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा. नारायणबहादुर थापाका अनुसार एक वर्षभन्दा कम उमेरका बच्चामा समेत डेंगे देखिएको छ । भरतपुर अस्पतालमा परीक्षणका लागि ल्याइने बालबालिकामध्ये अधिकांश भाइरल ज्वरोका बिरामी छन् । उनीहरुमध्ये करिब ५० प्रतिशतलाई डेंगे देखिने गरेको छ ।
डा. थापाका अनुसार ठूला मान्छेलाई डेंगे भएपछि डराएर बालबालिकालाई परीक्षणका लागि अस्पताल ल्याउने गरिएको छ । एउटै घरमा बच्चादेखि वृद्धसम्मलाई डेंगे भएको पनि भेटिएको छ । भरतपुर अस्पतालको बहिरंग विभाग(ओपीडी)को बालरोग विभागमा बुधबार करिब ३ सय जना बालबालिकाको परीक्षण गरिएको थियो ।
जसमध्ये ५० प्रतिशतभन्दा बढी भाइरल ज्वरोका बिरामी रहेको अस्पतालका वालरोग विशेषज्ञ डा. युवानिधि बसौलाले जानकारी दिए । गत महिना दैनिक औसत एक सय जना बालबालिकाको परीक्षण गर्ने गरिएको यस विभागमा बिरामीको चाप दुई सय प्रतिशतले बढेको छ । बालरोग विभागको ओपीडीमा रहने चारदेखि पाँच जना विशेषज्ञ चिकित्सकलाई टिकट लिएका सबैको परीक्षण गर्न हम्मे हुन थालेको बसौलाले बताए । उनका अनुसार पछिल्लो समयमा आएका बिरामीमध्ये डेंगे र भाइरल ज्वरोबाहेक स्क्रबटाईफस, इन्फ्लुएञ्जाका पनि छन् । डेंगेको संक्रमण देखिएका १५ जना बालबालिका भरतपुर अस्पतालको बच्चा वार्डमा उपचाररत छन् । ६७ शैया रहेको उक्त वार्डमा रहेका अन्य प्रायः भाइरल ज्वरो र इन्फ्लुएञ्जाका बिरामीहरु छन् ।
जिल्लाका अन्य अस्पतालमा पनि बालबालिकाको संख्या बढेको छ । बकुलहर रत्ननगर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज, नारायणी सामुदायिक अस्पताल, पुष्पाञ्जली हस्पिटल, ओम अस्पताल, चितवन अस्पताललगायतका अस्पताल तथा ल्याबहरुमासमेत डेंगे परीक्षणका लागि आउने बालबालिकाको संख्या बढ्दो छ ।
डेंगेको बारेमा समाचारहरु बढी आउन थालेका कारण डराएर परीक्षणका लागि आउनेको संख्या धेरै रहेको चिकित्सकहरु बताउँछन् । “ज्वरो आएको एक घण्टाभित्रै अस्पताल आइपुगेर डेंगे परीक्षण गराइदिनुप¥यो भन्ने पनि छन्”, डा. बसौलाले भने, “अभिभावकहरुलाई बच्चालाई ज्वरो आयो भने डेंगे नै भयो भन्ने भएको छ ।” डेंगे भएका बच्चाहरुमा ज्वरो आएको २–३ दिनपछि खुट्टामा घमौरा, दादुरा जस्तो देखिने बिबिरा देखा पर्ने गरेको छ । कतिपयमा बान्ता हुने समस्या पनि देखिएको छ । ५ दिनसम्म लगातार ज्वरो आउने समस्या यसपटक धेरै देखिएको उनले बताए ।
ज्वरो नियन्त्रणमा नआउने, रक्तचाप पनि धेरै घट्नेलगायतका ठूला समस्या भएका बिरामीलाई अन्य अस्पतालमा पठाउने गरिएको छ । डेंगेको संक्रमण ४ देखि ५ वर्ष उमेर समूहका बालबालिकामा बढी देखिएको छ । दूधे बालबालिकाहरुमा पनि भाइरल ज्वरो, डेंगे, स्क्रबटाइफसको समस्या देखिएको भन्दै सजगता अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन् । केही दिनअघि तीन महिनाको दूधे बालकमा समेत स्क्रबटाइफस देखिएको डा. बसौलाले बताए ।
डेंगेको संक्रमण बढ्न थालेपछि विद्यालय पठाउनुअघि बालबालिकाको शरीरमा लामखुट्टे भगाउने केमिकल, नरिवलको तेल लगाइदिने क्रम बढेको पाइन्छ । बजारमा लामखुट्टे भगाउने स्टीकरसमेत पाइन थालेको छ । डेंगेबाट बच्न विद्यालय जाने बालबालिकाहरुले लामखुट्टे भगाउने गन्ध आउने स्टीकर हात–खुट्टामा टाँस्ने गरेका छन् ।
देशभर डेंगेको संक्रमण बढ्दो क्रममा देखिँदा चितवनमा सबैभन्दा बढी संक्रमण देखिएको छ । बालबालिकालाई अत्यावश्यकबाहेकको समयमा घरबाहिर ननिस्कन चिकित्सहरुको सल्लाह छ । निस्कनै परे शरीरका सबै अंग छोपिने कपडा लगाउन, पानी जमेको क्षेत्रमा नखेल्न सुझाव दिएका छन् । लामखुट्टे भगाउने नाममा केमिकलको प्रयोग नगर्न पनि चिकित्सकको सुझाव छ ।
डेंगे नियन्त्रणमा ताते स्थानीय
डेंगेले त्राही बनाएको चितवनमा नियन्त्रणका लागि सर्वसाधारण जुर्मुराउन थालेका छन् । जिल्लामा बुधबारसम्म ४ हजार ४ सय ४५ जनाको रगत परीक्षण गरिएको छ भने करिब पन्ध्र सय जनामा संक्रमण भेटिएको छ ।
मुख्यगरी बजारक्षेत्रमा फैलिएको डेंगे नियन्त्रणका लागि बजार क्षेत्रकै स्थानीय सक्रिय हुन थालेका छन् । बुधबार भरतपुर मेडिकल कलेज रोडको प्रगतिपथ टोलका स्थानीयले आफ्नो क्षेत्रमा डेंगे गराउने लामखुट्टेको लार्भा खोजी खोजी नष्ट गरेका छन् । डेंगे गराउने एडिस इजिप्टाई जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्न रुचाउ“छ । एडिस एजिप्टाई लामखट्टे कालो रंगको हुन्छ भने सेतो थोप्लो पनि देखिन्छ ।
लामखुट्टेले आफ्नो जीवनकालमा हजारौं फुल पार्न सक्छ । त्यसबाट लार्भा बन्छ । लार्भा विकसित भएर लामखुट्टे बन्छ । डेंगे नियन्त्रण गर्न डेंगे गराउने लामखुट्टे मार्नुको विकल्प छैन । यही मन्त्रलाई आत्मसाथ गर्दै प्रगतिपथ टोल विकास समितिले डेंगे सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गरेको अध्यक्ष रमा लौडारीले बताइन् । वडा नम्बर १० का क्रियाशील महिला स्वास्थ्य स्वेयंसेविकाको संंलग्नतामा अभियान सञ्चालन गरिएको हो ।
१०५ घरधुरी रहेको सो टोलमा होटल तथा लज बढी छ । सरसफाइमा संलग्न स्थानीयलेले आफ्नो टोलमा पर्ने पुरानो मेडिकल कलेज परिसर पनि सरसफाइ गरेका छन् । उनीहरुले अस्पताल परिसरभित्र फोहर फाल्ने क्षेत्र र ग्यारेज सरसफाइ गरेका छन् । अस्पताल परिसर नै रोगकको घर बन्दै गएको अवस्थामा डेंगे नियन्त्रणका लागि सरसफाइलाई आफ्नो जिम्मेवारीका रुपमा बहन गरेको संस्थाका उपाध्यक्ष मञ्जु अर्यालले बताइन् ।
भरतपुर महानगरको बजार क्षेत्रमा फैलिएको डेंगे नियन्त्रणका लागि आफ्नो टोल जस्तै अन्य टोलबासीले पनि स्वस्फूर्त सरसफाइ अभियान सञ्चालन गरे डेंगे नियन्त्रण सम्भव रहेको उनको भनाइ छ । भरतपुरको वडा नम्बर १० सहित २, ३, ४, ८, ९, ११ र १२ डेंगेको उच्च संक्रमण जोखिममा रहेका वडा हुन् ।
नगरबासीलाई जागरुक गराइँदै
खैरहनी, २५ भदौ
डेंगेको सक्रमण रोक्न खैरहनी नगरपालिकाले आफ्नो नगरभित्र सचेतनाका साथै लामखुट्टेको बासस्थान खोज्ने र लार्भा नष्ट गर्ने अभियानलाई तीव्रता दिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले सुरुमा डेंगेबारे जानकारी दिँदै अभियानमा सहभागी गराई संक्रमण रोक्ने प्रयास गरेको हो ।
बुधवार खैरहनी नगरपालिकाका–४ वटा वडामा डेंगेको सक्रमण रोक्ने विषयमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । स्वास्थ्य शाखा संयोजक माया पाण्डेका अनुसार खैरहनी वडा नम्बर १०, ११, १२ र १३ मा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
ती वडाहरुमा पर्सी शुक्रबारदेखि टोल विकास संस्था, विभिन्न क्लबहरुको सहभागितामा लामखुट्टेको बासस्थान खोज्ने र लार्भा नष्ट गर्ने अभियान सञ्चालन हुने स्वास्थ्य शाखा संयोजक पाण्डेले बताइन् ।
खैरहनी वडा नम्बर १ ले डेंगेबारे सचेतना फैलाउन बिहीबार सचेतना ¥यालीको आयोजना गर्दैछ । खैरहनी–२ मा अभिमुखीकरण कार्यक्रम गरी बुधबारदेखि टोल–टोलमा पुगेर लामखुट्टेको बासस्थान खोज्ने र लार्भा नष्ट गर्ने काम सुरु भएको स्वास्थ्य शाखा सहसंयोजक रुद्र शर्माले जानकारी दिए ।