बसन्त ढुंगाना
भरतपुर, २० भदौ
आधुनिक, पप र लोकलगायत सबै प्रकारको गीतको म्युजिक भिडियो मोडलिङमा जमेकी छन् सुशीला थापा ।
सानैदेखि नृत्यमा रुचि भएकी थापाले १८ वर्षको उमेरमै म्युजिक भिडियो खेल्ने अवसर पाइन् । २०५९ सालदेखि नृत्यमा लागेकी थापाले सयौँ गीतमा नृत्य गरिसकेकी छन् । थापा राजेशपाल राईको ‘सिरीसिरी बतास’, ‘रातो रिबनमा’, ‘पार पार देउसुरे पाइलो’, ‘तिम्रो चोटले जलुला’, ‘रुकुम सिस्ने काखै’, ‘नाचमला नक्कल पारीपारी’लागयत गीत चर्चित छन् ।
२०५८ सालमा विरेन्द्र हमालबाट आर्ट थिएटरको औपचारिक प्रशिक्षण सहित यस क्षेत्रमा होमिएकी थापाले सानैदेखि नृत्यमा रुचि राख्थिन् । नृत्यलाई अझ बलियो बनाउन भारतको प्राज्ञ संगीत समिति अल्लाहबादमा स्नातक तह पास कत्थकको शिक्षा हासिल गरिन् । उनको नृत्यको शिक्षा भने अझै सकिएको छैन । अझै तालिम लिने र दिने काम दुवै जारी राखेकी छन् ।
नृत्यमा खारिँदै गएकी थापा अभिनय तथा नृत्य निर्देशनमा पनि अब्बल बन्दै छिन् । एम आर्ट थिएटरद्वारा गरिएको ‘बरिलै’, ‘भत्केको पर्खाल’, ‘शक्ति माया’, ‘इडिपस’, ‘विस्थापितका आवाजहरु’लगायत नाटकमा उनले अभिनय गरेकी छन् । यसअघि नै प्रकाशित भएका कृतिमा पनि उनले अभिनय गरेको अनुभव सुनाइन् ।
निर्देशक वीरेन्द्र हमालले निर्देशन गरेको कविता, नाटक ‘पृथ्वी’मा अभिनय गर्ने अवसर पाएकी थिइन् । त्यससँगै सांस्कृतिक संस्थानद्वारा गरिएका ‘कोलाज’, ‘मोदी आइन्’, ‘एक चिहान’, ‘बासबदत्ताको सपना’, सडक नाटक निर्वाचनसम्बन्धी ‘महादान’लगायतमा नाटक गरेकी उनले बताइन् ।
२०४१ सालमा रुपन्देहीको सालझण्डीमा जन्मेकी थापाले विभिन्न नाटकमा सहायक निर्देशकको भूमिका निर्वाह गरेकी छन् । तर, उनले निर्देशकभन्दा पनि आगामी दिनमा नृत्य र मोडलिङ क्षेत्रलाई जोड दिने सुर कसेकी छन् । “लघुकथा ‘सहमति’, ‘भत्केको पर्खाल’, ‘विस्थापित आवाजहरु’को सहायक निर्देशक भएर काम गरें”, उनले भनिन्, “आगामी दिनमा भने नृत्य र मोडलिङ नै गर्ने लक्ष्य छ ।” नवलपरासीको बर्दघाटमा उनको स्थायी बसोबास छ ।
उनी २०६४ सालदेखि सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघरमा अभिनय तथा नृत्यांगनाका रुपमा कार्यरत थापाले नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘टेलिफिल्म डर’ टेलिफिल्म खेलेकी छन् । उत्कृष्ट तीजगीतको मोडलतर्फ उनले ‘पब्लिक च्वाईस अवार्ड’ प्राप्त गरेकी थापाले दर्जनौँ पुरस्कार प्राप्त गरेकी छन् । नृत्य कौशलकै कारण थापाले देशको ७७ जिल्लामध्ये आधाभन्दा बढी जिल्लासहित सिंगापुर, हंगेरी, चीन, जापान, भारतलगायतका मुलुकमा स्टेज कार्यक्रम गरिसकेकी छन् ।
नृत्यमा नै आफ्नो भविष्य बनाउने सोच बनाएकी सुशीलाले आफूलाई अझ अब्बल बनाउन कत्थक, चरिया र लोकनृत्य विधाको अध्ययन पनि गरिरहेकी छन् । केही विद्यालयमा नृत्य निर्देशकको रूपमा पनि उनले काम गरेकी छन् । उनले दर्जनौं कार्यक्रममा नृत्य प्रस्तुत गर्नुका साथै नृत्य निर्देशनसमेत गरेकी छन् ।
कला क्षेत्रबाट नाम, दाम र सम्मान सबै पाएकी उनलाई पछिल्ला वर्षमा मेला महोत्सवबाट पनि नृत्यका लागि अफर आउने गरेको छ । सम्भव भएसम्म आफ्नो कला देखाउनको लागि उनी पुग्छिन् । भिडियोमा चलेका कलाकारको पनि अन्तिम गन्तव्य चलचित्र बन्ने गरेको छ ।
थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी थापालाई विभिन्न भाषाका चलचित्रमा पर्नि देख्न सकिन्छ । मगर भाषाको ‘मोड्याल्नी’(लोकन्ती) र गुरुङ भाषाको ‘रेंगो–रेंगो’(टाढा–टाढा) चलचित्रमा उनले नायिकाको भूमिका निर्वाह गरेकी छन् । उनले आगामी दिनमा अवसर पाए चलचित्रमा अभिनय गर्ने पनि सुनाइन् । “आफूलाई सुहाउँदो कथा वा प्रभावकारी भूमिकाको प्रस्ताव आएमा काम नगर्ने भन्ने हुँदैन”, उनले भनिन्, “आफूलाई चित्तबुझ्दो चलचित्रको अभिनय गर्ने अवसर पाए यसका लागि तयार छु । तर, मेरो इच्छा नृत्यविज्ञ नै बन्नु हो ।”