राजेश घिमिरे
भरतपुर, ११ भदौ
गत आर्थिक वर्षको तुलनामा यसवर्षको पहिलो महिनामा स्थायी लेखा नम्बर (पान) मा दर्ता हुनेको संख्या २ हजार ४२४ प्रतिशतले वृद्धि भएको छ । आन्तरिक राजस्व कार्यालय भरतपुरका अनुसार संस्थागत पान र मूल्य अभिवृद्धि कर तथा अन्तशुल्क करमा दर्ता हुनेको अवस्था पनि उत्साहजनक छ ।
कार्यालयका सूचना अधिकारी धनिश्वर अर्यालका अनुसार व्यक्तिगत पानमा गतवर्षको साउनमा जम्मा ३ सय ५३ जना दर्ता भएका थिए । तर, यसवर्षको सोही महिनामा ८ हजार ९ सय ११ जनाले स्थायी लेखा नम्बर लिएका छन् । नेपाल सरकारले यस आर्थिक वर्षको विधेयकमार्फत जुनसुकै कारोबार गर्दा करमा दर्ता हुन अनिवार्य गरेपछि आर्थिक वर्षको सुरुबाटै देशभरका राजश्व कार्यालयहरुमा स्थायी लेखा नम्बर तथा करमा दर्ता हुनेको भिड लागिरहेको छ । “पहिलो महिनाको दर्ता निकै उत्साहजनक पाइयो”, अर्यालले भने, “सरकारले कडाइ गरेपछि करको दायरामा आउन बाध्य हुने अवस्था आएको छ ।”
संस्थागत पानमा दर्ता हुनेको संख्या साउन महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा १५२ प्रतिशतले बढेको छ । गत साउनमा मात्रै चितवनमा संस्थागत पानमा दर्ता हुनेको संख्या १ हजार ६४ पुगेको हो ।
त्यस्तै मूल्य अभिवृद्धि करमा दर्ता हुनेको संख्या साउनमा ८ सय ११ पुगेको छ । यो गतवर्षको साउनको तुलनामा २४५ प्रतिशतले बढी हो । अन्तशुल्क करमा दर्ता हुनेको संख्या १३२ प्रतिशतले बढेको छ । साउनमा अन्तशुल्क करमा ३ सय ७६ व्यवसाय दर्ता भएको राजश्व कार्यालयले जनाएको छ ।
स्थायी लेखा नम्बरमा दर्ता हुनेको संख्या भदौ महिनामा पनि उत्साहजनक छ । भदौको दश दिनको अवधिमा झण्डै ४ हजार जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् । व्यावसायिक पानमा दर्ता हुनेको संख्या यो अबधिमा १ हजार ८२ छ । त्यसैगरी मूल्य अभिवृद्धि करमा दर्ता हुनेको संख्या भदौ महिनामा १ सय २८ पुगेको छ भने अन्तशुल्कमा दर्ता हुनेको संख्या १ मात्रै रहेको छ ।
आन्तरिक राजस्व विभागले सबैलाई करको दायरामा ल्याउने उद्देश्यले करदातालाई वायो मेट्रिक प्रणालीमा लैजाने तयारी पनि अन्तिम चरणमा पुगेको छ । यस प्रणालीमा गएपछि करदाताको अवस्था बारे हरेक बर्ष नविकरण गर्नुपर्ने हुन्छ । यसको माध्यमबाट कर प्रशासन र करदाता थप पारदर्शी बन्ने विश्वास विभागको छ ।
अनिवार्य करको प्रभाव:व्यक्तिगत ‘पान’ २ हजार ४२४ प्रतिशत बढ्यो
अनिवार्य करको प्रभाव:व्यक्तिगत ‘पान’ २ हजार ४२४ प्रतिशत बढ्यो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस