राजेश घिमिरे
भरतपुर, ८ भदौ
माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको मृत्यु भएको १९ दिनपछि शनिबार मृतकका परिवार, आफन्त तथा छिमेकीको बयान लिइएको छ । मृतककी श्रीमती सम्झना घिमिरे, दाजु प्रकाश पुडासैनी, ससुरा जनक घिमिरे, साढुभाइ सुदीप रिमाल र छिमेकी गोकर्णनाथ न्यौपानेसँग शनिबार बयान लिइएको हो ।
रवि रिहाइको पक्षमा उपमेयर
भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरीले रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्नुको औचित्य नभएको बताएकी छन् । सम्पूर्ण प्रमाणहरु प्रहरीसँगै रहेकाले आवश्यक पर्दा बोलाउनेगरी छाड्न सकिने उनले बताइन् । महानगरपालिकाको न्यायिक समितिको संयोजक समेत रहेकी ठकुरीले रविको पक्षमा जनताको समर्थन धेरै रहेका कारण पनि हिरासतमा राख्न नहुने तर्क गरिन् । “यो मेरो व्यक्तिगत नभई न्यायिक समितिकै धारणा हो”, उनले भनिन्, “एक जना पत्रकारको मृत्यु भइसक्यो, अर्का हिरासतमा छन्, दुबैले न्याय पाउनुपर्छ भन्ने मान्यता हाम्रो हो”
शुक्रबार चितवन आइपुगेका मृतकका परिवारसँग सरकारी वकिलको कार्यालयमा बयान लिइएको हो । गत साउन २० गते नारायणगढको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका पुडासैनीको मोबाइलबाट प्रहरीले ‘सुसाइट भिडियो’ फेला पारेको थियो । उक्त भिडियो साउन २९ गते बुधबार एक अनलाइनमार्फत सार्वजनिक भएपछि प्रहरीले भिडियोमा पुडासैनीले नाम किटेका तीन जनालाई पक्राउ गरेको थियो ।
अस्मिताको बयानःसम्झनाले मिलेर बसौं भनिन्
बयानका क्रममा नर्स अस्मिता कार्कीले शालिकराम पुडासैनीकी श्रीमती सम्झनाले आफ्नो पतिसँग मिलेर बस्न आश्वस्त पार्न खोजेको बताएकी छन् । कुरागर्ने क्रममा ‘सम्झना’ शब्द फुत्काएपछि अस्मिताले पुडासैनीको गतिविधि माथि आशंका गर्न थालेकि थिइन् । पटक–पटक सम्झना को हो भनेर सोध्दा साथी हो भन्ने जवाफ आएपछि उनी आँफैले फेसबूकमा खोजी गर्दा नुवाकोट घर भएको फेला पारिन् । फेसबूक मार्फत कुरा गर्दा सम्झनाले ‘जे हुनु भयो, हामी मिलेर बसौंला, तिमीहरुको बाटोमा म आउँदिन’ भनेर विश्वस्त पार्न खोजेको अस्मिताले बयानको क्रममा बताएकी छन् ।
अस्मिताको मुद्दा हेर्ने वकिल अधिबक्ता फूलमायाँ रानाभाटले पुडासैनीले श्रीमतीलाई जानकारी गराएरै अस्मितासँग विहे गर्न खोजेको बताइन् । अस्मिताले भने पुडासैनीको श्रीमती रहेको थाहा पाए देखिनै तर्कने प्रयास गर्दै आएको उनले बताइन् । सम्झनाले मिलेर बसौंला भन्दा पनि अस्मिताले यो सम्भव छैन भनेर नकारेको भन्दै उनले पुडासैनीको मृत्युमा उनको कुनै दोष नरहेको दाबी गरिन् । उनले अस्मिता तर्कन खोज्दा–खोज्दै पनि पुडासैनीले घुर्कि लगाउने र धम्काउने गरेर हिंसा गरेको बताइन् ।
फेसबूकमा नियमित कुरा हुने सम्झना र पुडासैनीको हप्तामा दुई–तीन पटक भेट हुने गरेको थियो । भेटमा पनि पुडासैनीले विहेका लाग दवाव दिने गरेका थिए । अस्मितासँग उनले विहे दर्ताका लागि नागरिकता र फोटो मागेका थिए । श्रीमती रहेको बारे थाहा पाएपछि अस्मिताले न्यूज २४ टेलिभिजनमा पुगेर भेटिएका व्यक्तिहरुलाई शालिकरामको बारेमा सोधेकी थइन् । सोही क्रममा उनले शालिकराम आफ्नो पछि लागि रहेको भन्दै त्यसो नगर्न भनिदिन आग्रह गरेकी थिइन् । रवि र युवराजसँग भने चिनजान नै नभएको उनले बताएकी छन् । ्
शालिकरामले समेत मृत्यु अघि श्रीमतीसँग माफी मागेको भन्दै अधिबक्ता रानाभाटले आफुँले गल्ती गरेको उनलाई अन्तिम अवस्थामा पनि बोध भएको बताइन् । श्रीमती सम्झनाले श्रीमानको अर्को सम्बन्ध लुकाउनु नै गल्ती भएको भन्दै उनले अस्मितालाई आत्महत्या दुरुत्साहनको मुद्दा चलाउनै नमिल्ने दाबी गरिन् ।
बयानमा अस्मिताले अष्ट्रेलिया जाने बिषयमा अनविज्ञता प्रकट गरेकी छन् ।
पक्राउ परेका न्यूज २४ टेलिभिजनको कार्यक्रम ‘सिधा कुरा जनतासँग’ का प्रस्तोता रवि लामिछाने, सोही कार्यक्रमका रिपोर्टर युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई न्यायिक हिरासतमा राखिएको शनिबार १० दिन पुगेको छ । चितवन जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद लिएको दश दिन सकिनै लाग्दा प्रहरीले मृतकका परिवारको बयान लिएको हो ।
परिवारमा ‘न्याय’ नपाउने आशंका
मृतकको परिवारले न्याय पाउने सम्भावना कम रहेको गुनासो गरेको छ । शनिबार कायाकैरनसँग कुराकानी गर्दै मृतक पुडासैनीका ससुरा जीवन घिमिरेले न्याय नपाउने आशंका बढेको बताए । “प्रहरीले देखाएको भिडियो हेर्दा र भिडियोमा तोकिएको व्यक्तिहरु पक्राउ पर्दा न्याय पाइएला कि भन्ने आशा थियो”, उनले भने, “तर अब आशा मर्दै गएको छ ।” उनले घटनामा संलग्न व्यक्ति ‘ठूला मान्छे’ रहेकाले सबैजना उनैको पछि लागेको बताए । घटनामा संलग्न भएको आशंकामा अनुसन्धान गर्न पनि नदिने प्रयास भइरहेको भन्दै घिमिरेले भिड जम्मा गर्न नसक्ने र पहुँच र पैसा नभएकालेहरुले न्याय पाउने सम्भावना नरहेको बताए ।
घटनाको सम्बन्धमा बयानका लागि प्रहरीले बोलाएपछि चितवन आइपुगेका उनले भने, “भोलि नै छाड्ने हल्ला पनि सुनियो, न्यायका लागि सबै ठाउँमा पुगिएको छ, यसै छाडिएछ भने पनि आफ्ना मान्छे बितेर गइहाले भनेर सन्तोष गरौंला ।” उनलाई बयानको क्रममा ज्वाइँसँगको सम्बन्ध र हुने गरेका कुराकानीको बारेमा प्रश्न गरिएको थियो । पुडासैनीले न्यूज २४ टेलिभिजन छाडेर माउण्टेन टेलिभिजनमा काम थालेपछि भएको कुराकानीमा रविको कार्यक्रम छाडेर अर्कोमा सुरु गरें । तर, गरिखान देलान् जस्तो छैन, मलाई जोखिम छ भनेको पुडासैनीका ससुरा घिमिरेले बताए । घिमिरेले भने, “मैले नछाडेको भए हुन्थ्यो । ठूला मान्छेसँग पंगा नलिएको भने हुने भनें”, उनले भने, “त्यसपछि पनि बेला–बेलामा कुरा त हुन्थ्यो । तर, त्यस विषयमा खासै कुरा भएन ।”
रविका वकिलको दावी–‘प्रहरीसँग कुनै प्रमाणै छैन’
रवि लामिछाने र युवराज कँडेल पक्षका वकिलहरुले आजै(आइतबार) उनीहरु छुट्ने दावी गरेका छन् । लामिछानेलाई हिरासतमा राख्नुपर्ने कुनै कारण नभएको भन्दै उनको पक्षका वकिल सुनिलकुमार पोखरेलले आइतबार अदालतमा अभियोजनपत्र पेश हुने आशा राखेको बताए ।
अभियोजनपत्र दर्ता नभएपनि तारेखमा रिहा हुने संभावना रहेको उनले बताए । रवि र युवराजको विपक्षमा प्रहरीसँग कुनै प्रमाण नरहेको उनको दावी छ । शुक्रबार हिरासतबाटै अडियो अन्तरवार्ता दिँंदै रवि लामिछानेले प्रहरीले म्याद थपको औचित्य पुष्टि गर्नै नसकेको बताएका थिए । उनले म्याद थप भएपछि हिरासतभित्र असुरक्षित महसुस गरेको बताएका थिए । उनले आरोप प्रमाणित भए ‘मर्न’समेत तयार रहेको बताएका थिए ।
मृतकका छिमेकी दीपक पुडासैनीले मृतकका पक्षमा कुनैपनि प्रमाण छैन भनेर अफवाह फैलाई भिड जम्मा गरिएको आरोप लगाए । भिडियो भेटिँदा न्यायको आशा देखिएपनि रवि पक्षबाट भइरहेका गतिविधिले पीडितले न्याय पाउने आशा कमजोर भएको बताए । “न्याय मरेको देश रहेछ । यस घटनालाई पनि निर्मला पन्तको हत्याजस्तै बनाउने प्रयास भइरहेको छ”, उनले भने । रविको समर्थनमा राजावादी र कांग्रेसका कार्यकर्ता खुलेर लागेपछि आफूहरु निराश भएको उनले बताए । गोकर्णनाथ न्यौपानेले मृतकतर्फका सबैले बयान दिइसकेको भन्दै अदालतको निर्णयको प्रतिक्षामा रहेको बताए ।