एकदेव अधिकारी शिक्षण गर्छन् । अंग्र्रेजी साहित्यमा स्नातकोत्तर उनी हाल रत्ननगरस्थित स्काइराइडर आवासीय मा.वि.मा अध्यापन गरिरहेका छन् । शिक्षणका अलावा साहित्य लेखनमा पनि उनको क्रियाशिलता छ । कथा लेखनमा उनको सक्रियता अझै लोभलाग्दो छ । उनको लघुकथा संग्रह ‘भिखारी’ भदौको पहिलोसाता सार्वजनिक हुँदैछ । यसअघि उनको ‘स्वको खोजी’ नामक पुस्तक पनि प्रकाशित छ । नेपाली साहित्यका पुस्तक र यसको बजारका सन्दर्भमा केन्द्रित रहेर कायाकैरनको साहित्य र कला संयोजक लेखराम सापकोटाले उनीसँग किताब गन्थन गरेका छन् ।
अहिले के पढ्दै हुनुहुन्छ ?
लघुकथाको काम विशेषले यसैसम्बन्धी पुरानादेखि नयाँ किताबहरू पढिरहेको छु । पूर्णप्रसाद ब्राह्मणको ‘एकतीस कथा’देखि खेमराज पोखरेलको राम शाहको चौतारोजस्ता किताबहरू भर्खरै पढेर सकेको छु । प्रयोजनभन्दा बाहिर भन्नुपर्दा महेश थापाको ‘मरिचिका’ पढेर सकेँ । अहिले भारद्वाज मित्रद्वारा अनुदित राहुल सांकृत्यायनको ‘सिंह सेनापति’ पढ्दैछु र अब यसपछिको बसाइमा रवीन्द्र समीरको ‘मृत्युको आयु’ पढ्ने योजना बनाएको छु ।
कस्ता किताब पढ्न रुचाउनुहुन्छ ?
सानैदेखि आख्यानमा रूचि बस्यो, त्यसैले सामान्यतया आख्यानका किताबहरू नै मेरो छनोटका किताबमा पर्ने गर्छन् । पछिल्लो समयमा भने केही विचारोत्तेजक कविताहरू पढेपछि कविताका किताबहरूले पनि आकर्षित गर्न थालेको छ । सायद अबको दिनहरूमा त्यसले अझ बढी निरन्तरता पाउँछ कि !
किताब किन्ने आधार केलाई बनाउनुहुन्छ ?
पहिलो आधार निश्चय नै आफ्नो रूचिको विधाको किताब हुने गर्छ । पुराना नाम चलेका साहित्यकारहरूका आफूले पढ्न बाँकी किताब पुस्तक पसल जाँदा भेटिएमा किन्दछु । त्यसपछि समसामयिक किताबहरूमध्ये सञ्चारमाध्यममा आएका मिश्रित प्रतिक्रियाहरू पढेपछि मनमा आउने खुल्दुलीका कारण कुनै किताब किन्दछु । अहिले ‘फातसुङ’को चर्चा सञ्चारमाध्यममा राम्रै चलेको छ । त्यो किताब पक्कै पढ्नेछु ।
खासगरी एउटा किताब कति बसाइमा पढिसक्नुहुन्छ ?
लघुकथाका १२०–१५० पृष्ठसम्मका किताबहरू प्रायः गरी एकै बसाइमा पढिसक्छु । अरू कथा, उपन्यासजस्ता किताबहरूको सन्दर्भमा किताबको लम्बाइ, आफ्नो रूचि, कथानकको खिचाव आदि तत्वहरूमा निर्भर गर्दछ । कुनै किताब केही पेज पढेपछि दोहो¥याएर पल्टाउन पनि मन लाग्दैन । किताब पढ्न त्यसको कथानकले तान्नुपर्छ । कथानकले तानेमा वा विषयवस्तु मन परेमा सामान्यतया पाँचदेखि दस बसाइसम्ममा कथा तथा उपन्यास पढिसक्छु ।
किताब पढ्न रुचि राख्ने तर किताब छनोट गर्न नसक्नेलाई तपाईंको सुझाव के रहन्छ ?
आफ्नो रूचिअनुसारको विधाको किताबको बारेमा सञ्चारमाध्यम, सामाजिक सञ्जालमा चलिरहेका समालोचनात्मक समीक्षाहरू पढ्ने र त्यसको आधारमा एउटा स्थीर धारणा बनाउने गर्नुपर्छ । यसरी छनोट गरिएका किताबले निराश पार्ने सम्भावना धेरै कम हुन्छ ।
पछिल्लोपटक बजारमा आएका पढ्नैपर्ने राम्रा पुस्तक कुन–कुन होलान् ?
पछिल्लोपटक बजारमा थुप्रै पुस्तकहरू आएका छन् । तीमध्ये यही–यही किताब ठीक भनेर ठोकुवा गर्नु पक्कै पनि उचित नहोला । कतिपय किताब नपढिएका भए पनि राम्रा हुन सक्छन् । कतिपय किताबमाथि धेरै प्रशंसाको पुल बाँधिए पनि वास्तवमा ती किताबले निराश गर्न सक्छन् । तर, पनि आफूले पढेका किताब तथा पछिल्लो पटक सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका क्रिया प्रतिक्रियाका आधारमा पढ्नैपर्ने किताबको सूचीमा महेश थापाको ‘मरिचिका’, छुदेन काविमोको ‘फातसुङ’, माधव सयपत्रीको ‘बादशाहको अटोग्राफ’, कृष्ण अविरलको ‘छलीयुग’, राहुल सांकृत्यायनको ‘सिंह सेनापति’, तथा रवीन्द्र समीरको मृत्युको आयु, भुपीनको मैदारो, कमल लामिछानेको अन्तर्दृष्टि पठनीय किताब हुन् ।