गायत्री अधिकारी खासमा कथा लेख्न रुचाउँछिन् । कथाहरू चाख मानेर पढ्ने उनी आफैं कथाहरूको पाण्डुलिपीलाई छिट्टै किताबको रूपमा मूर्तरुप दिने तयारीमा छिन् । कलेज पढ्दाताका रमेश विकल, विश्वेश्वरप्रसाद कोइराला, ध्रुुवचन्द्र गौतम तथा पारिजातका कथाहरू उनलाई विशेष मन पर्थे । यिनै मानक स्रस्टाका कथाहरूले उनलाई पनि कथा लेखनमा अग्रसर गराएको हो । अधिकारीसँग कायाकैरनका लागि लेखराम सापकोटा र विजय विश्वकर्माले अधिकारीसँग गरेको कुराकानीः
आफूभित्रको साहित्यकारलाई सर्वप्रथम कहिले र कसरी चिन्नुभयो ?
स्कूल जीवनदेखि नै फाट्टफुट्ट साहित्य पढ्ने गर्थें । विवाह भएपछि घरमा पुस्तकको चाङैचाङ देखेर खुसी लाग्यो । त्यसपछि अझ साहित्य पढ्ने बानी भयो । सुरुमा गुरुप्रसाद मैनालीको ‘नासो’ कथासंग्रह नै पढेकी हुँ । त्यसपछि रमेश विकल, बीपी अनि पारिजातका कृतिहरु पढें । यसरी एकपछि अर्को पढ्दै जान थालेपछि रस बस्यो । अरुले लेखेको पढ्दा आफूलाई पनि लेखौं–लेखौं लागेर कविता तथा कथाहरु लेख्न थालें । २०५८ सालतिर जब मेरो रचना ‘आदर्श समाज’ भन्ने पत्रीकामार्फत पहिलोपटक छापिँदा साह्रै खुसी लाग्यो । साहित्यिक कार्यक्रममा पनि मेरो उपस्थिति बढ्दै गएपछि थप ऊर्जा मिल्यो र अब मैले पनि लेख्नुपर्छ भन्ने दृढ संकल्प गरें ।
शिक्षण पेशामा पनि आबद्ध हुनुहुन्छ, गृहणी हुनुहुन्छ साथै साहित्य सृजनामा अनवरत तल्लिन हुनुहुन्छ । समय व्यवस्थापनको पाटो कत्तिको चुनौतीपूर्ण बन्ने गरेको छ ?
गृहणीलाई समय व्यवस्थापन गर्न सजिलो त पक्कै पनि छैन । मेरो हकमा पनि यो चुनौतीपूर्ण नै छ । यद्यपि कुनै दिन मैले केही लेखिन अथवा पढिन भने दिन व्यर्थ बिते झैँ लाग्छ । पेशाले म शिक्षक हुँ । दिनको आधाभन्दा बढी समय शिक्षण र घरधन्दामै बित्छ । बचेको समय साहित्यलाई दिन्छु ।
घरपरिवारबाट प्रेरणा र प्रोत्साहन कत्तिको पाइन्छ ?
त्यसो त मेरो पारिवारिक माहोल नै साहित्यिक छ । घरमा प्रशस्त पुस्तकहरू अध्ययन गर्न पाइने भएपछि पढौं–पढौं, लेखौं–लेखौं लाग्ने नै भयो । शिक्षित परिवारमा केही गर्छु भन्नेलाई रोक्ने कुरै भएन । मेरो श्रीमान् उदय अधिकारी, जो आफैमा एउटा प्रखर अध्येता हुनुहुन्छ उहाँबाट नै मैले मेरो पठन र लेखनको प्रेरणा पाउने गरेकी छु । उहाँले नै मलाई असली साहित्यको दुनियाँसँग परिचित गराउनुभयो । विजय मल्ल, पारिजात, सिद्धिचरण श्रेष्ठलगायत थुप्रै महान श्रष्टाहरुसँगका भेटघाटको किस्सा उहाँले बेला–बेलामा सुनाउने गर्नुहुन्छ । नयाँ पुस्ताका स्रष्टाहरुसँग पनि उहाँ निरन्तर संवादमा हुनुहुन्छ । साहित्यप्रतिको उहाँको यो लगाव र सक्रियता नै मेरो ऊर्जाको स्रोत हो ।
कथा लेखनमा केन्द्रित हुँदै गएको देखिन्छ तपाईंको कलम । किन कथालाई नै आफ्नो अभिव्यक्तिको माध्यम बनाउनुभयो ? साहित्यका अन्य विधाका बारेमा तपाईंको राय के छ ?
मैले सुरुमा कविता र गजलहरु लेख्ने गर्थें । तर, राम्रो लेख्न सकिन कि भन्ने सकसले पिरोल्थ्यो । उपन्यास पढ्ने लत नै बसिसकेको समय थियो त्यो । कथा पनि उत्तिकै धेरै पढियो । जीवन र जगतमा घटेका सबै घटनाहरु आख्यानमा अटाएको पाएँ । अर्थात, मैले मेरो क्षेत्र फेला पारें । गजल र कविताहरुभन्दा कथाहरुमार्फत आफूलाई व्यक्त गर्न सहज महसुस गरें । विस्तारै कथा कोर्न थालें । विभिन्न पत्रपत्रिकामा केही छापिए पनि । ती कथाहरु मन पराएका पाठकहरुको फोन आयो । केहिले भेटेर नै प्रोत्साहन दिएपछि अब मैले जिम्मेवार भएर लेख्नुपर्छ भन्ने कुराको बोध भयो ।
साहित्यका सबै विधाप्रति मेरो समान प्रेम छ । सबै विधाका स्रस्टाप्रति समान सम्मान छ । कविता, गजल, निबन्ध, नाटक, संस्मरण सबै मन पर्छन् । तर, पनि आख्यानचाहिँ विशेष लाग्छ ।
कथामार्फत तपाईंले उठान गर्न चाहेका मुद्दाहरु के–के हुन् ?
समाजलाई नै हो लेख्ने त । समाजमा विद्यमान विभिन्न वर्ग, धर्म, संस्कृति, जातजातिलगायत प्रेम र प्रकृतिका कुरा नै लेख्ने गर्छु ।
विभिन्न साहित्यिक कार्यक्रममा पनि देखिइरहनुहुन्छ । यस्ता कार्यक्रममा उपस्थित हुन किन जरुरी ठान्नुहुन्छ ?
विभिन्न ठाउँमा हुने साहित्यिक कार्यक्रममा जान आनन्द लाग्नुको कारण आफूले आदर्श ठानेका स्रस्टाहरुसँगको भेटघाट र विचारको आदानप्रदान नै हो । कुनै–कुनै कार्यक्रम छुटाउँदा बेग्लै पीडाको महसुस हुन्छ । गएको भए केही सिक्न पाउँथे कि भन्ने लाग्छ । तर, कार्यव्यस्तताका कारण सबै कार्यक्रममा सहभागी हुन सम्भव पनि त हुन्न । त्यसमाथि चितवनमा यति धेरै साहित्यिक गतिविधिहरु हुन्छन् कि एउटामा उपस्थित भएपनि अर्कोतिर केही न केही छुटिरहेकै हुन्छ ।
एउटा सर्जक अथवा पाठककै हैसियतले भन्नुपर्दा समकालीन नेपाली कथाहरुले पक्रेको दिशाबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
समकालीन नेपाली कथाहरुमार्फत विविध मुद्दाहरुलाई सम्बोधन गर्ने जुन प्रयास गरिएको छ, त्यो प्रशंसनीय छ । यद्यपि बाहिरका कथाहरुसँग तुलना गर्ने हो भने गुणस्तरचाहिँ हामीले पस्कन नै नसकेको हो कि झैँ पनि लाग्छ । पछिल्लो समय नेपाली कथा साहित्यमा केही आशलाग्दा अनुहारहरुको उदय भने भएको छ ।
पुस्तक पठनलाई कत्तिको प्राथमिकतामा राख्नुहुन्छ ?
उदय जीले सधैं दोर्हयाइरहने कुरा के हो भने संसार बुझ्नलाई पढ्न जरुरी छ। यो भनाइमा मेरो पनि सहमति छ । साहित्य संवादको माध्यम हो । विश्व साहित्य अध्यन गर्दा हामीले विश्व समाजसँग संवाद गरिरहेका हुन्छौं । विभिन्न देशका समाजका बारेमा हामीले बुझ्ने मौका पाउँछौं । मेरो अनुभवले पनि यहि भन्छ कि राम्रो लेख्नलाई राम्रो पढ्न असाध्यै महत्वपूर्ण छ । मैले अध्यन र लेखनबाट समय, समाज र प्रकृतिसँग संवाद गरिरहेकी हुन्छु ।
तपाईंका प्रिय ५ कथाकारहरु ?
आ–आफ्नो ठाउँमा सबै श्रद्धेय हुनुहुन्छ । तोकेरै भन्नुपर्दा बीपी कोइराला, रमेश विकल, गोविन्द गोठाले, पारिजात र रामलाल जोशीको नाम लिन चाहन्छु ।
तपाईंले सिफारिस गर्न चाहने ५ वटा कथा संग्रह ?
नासो, नयाँ सडकको गीत, दोषी चस्मा, छापामारको छोरो मलाई मनपर्ने कथा संग्रह हुन् ।
यति लामो साधना गर्नुभएको छ, अब यो साधनाको साधन पाठकलाई पस्कने बेला भएन ?
हो त नि ! पढ्दै, लेख्दै र सिक्दै यति लामो समय बितेको पत्तै भएन । अब भने ढिलो नगर्ने मनसायमा छु । तयारी अवस्थामा छ पाण्डुलिपि । संभवतः साउनभित्रै बजारमा आउँछ ।