प्रमिता ढकाल
भरतपुर, २४ बैशाख
विकास निर्माणको नाममा वरपीपलका चौतारा मासिँदै गएपछि यसको संरक्षणका लागि आवज उठ्न थालेको छ । पुनरुत्थानवादी शक्ति नेपालले सोमबार वरपीपलका रुखहरुको संरक्षणको माग गर्दै जिल्ला प्रशासन कार्यालय चितवनको ध्यानाकर्षण गराएको छ ।
विनास हुँदै गएका चौतारो जोगाउन तत्काल कार्यदिशा तय गर्न माग गर्दै पार्टीले चितवनका निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउने क्रममा पार्टीका प्रमुख नेता तारा बरालले वरपिलको संरक्षण गर्न स्थानीय निकाय उदासिन देखिएको आरोप लगाइन् ।
विगत १० वर्षयता भरतपुर नारायणगढको राजमार्ग क्षेत्रमा मात्रै ५४ वटा वरपीपलका रुख कटान भइसकेको उनले बताइन् । धार्मिकरुपमा समेत महत्वपूर्ण आस्था रहेकाले वरपीपलको संरक्षणमा ध्यान दिन आवश्यक रहेको उनले जोड दिइन् ।
वि.सं २०१३ सालदेखि नै सांस्कृतिक सम्पदा संरक्षणका लागि ऐन बनेको र पछिल्लो पटक वि.सं २०७३ पुस ६ गते सर्वोच्चले परमादेश नै जारी गरी वरपिपल संरक्षण गनुपर्ने निर्देश गरेको छ । सर्वोच्च अदालतले बाटोको नाममा पर्यावरणीय विनाश नगर्नू भनी आदेश गरेको छ ।
यसअघि २०७२ सालमा तत्कालीन जिल्ला विकास समितिको भवन अगाडिको दुर्गा मन्दिर नजिकको वरपीपलको चौतारा र मुनालचोकमा पीपलको रुख काट्न लागिएको अवस्थामा उक्त कार्यमा संलग्नलाई रंगेहात पक्राउ गरिएको नजिरबारे ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
तर, हाल सर्वोच्चको आदेशविपरीत वरपीपलका रुख कटान भइरहेपनि स्थानीय सरकार मौन रहेकोप्रति पुनःउत्थानवादी पार्टीले खेद व्यक्त गरेको छ । ज्ञापनपत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी पन्तले वरपीपलको संरक्षण महत्वपूर्ण रहेको बताए । यसको संरक्षणका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै सम्बन्धित निकायलाई आग्रहसमेत गर्ने उनले बताए ।