रत्ननगर, ७ फागुन
रत्ननगरका जनप्रतिनिधिले राजस्व कर तिर्न आग्रह गर्न घरदैलो सुरु गरेका छन् । नगरपालिकाले सुरु गरेको कर संकलन अभियानअन्तर्गत वडास्तरबाट जनप्रतिनिधिले घरदैलो थालेका हुन् ।
जनप्रतिनिधि जनताको घर, पसल र उद्योगमा पुगेर आफ्नो व्यवसाय नगरपालिकामा दर्ता गर्न, एकीकृत सम्पत्ती कर समयमै तिर्न र व्यवसाय नवीकरण गर्न आग्रह गरेको कार्यपालिका सदस्य तथा कर संकलन अभियानअन्तर्गत वडा नम्बर ९ र १० का संयोजक सरस्वती लामाले जानकारी दिइन् ।
सोमबारबाट वडा नम्बर १० र १४ मा कर संकलन सुरु गरिएको छ । वडा नम्बर १४ मा उपमेयर विमला दुवाडी र १० मा सो वडाका वडाध्यक्ष केशव आचार्य र कार्यपालिका सदस्यले संयुक्तरुपमा अभियानको उद्घाटन गरेका थिए । सो वडामा पहिलो दिन भानुचेक बजारमा रहेका पसलहरुमा पुगेर नगरपालिकामा पसल दर्ता गर्न, नवीकरण गर्न र समयमै कर तिर्न आग्रह गरिएको छ ।
घरदैलोमा अभियानमा वडासदस्य सीता भेटवाल, वडासचिव बासु रिजाल, सामाजिक परिचालिका मञ्जु आचार्य र टोल विकास संस्थाका अध्यक्षहरु भोजराज लामिछाने र छविलाल आचार्यको सहभागिता थियो । वडा नम्बर १४ मा कार्यपालिका सदस्य निर्मला खड्काको संयोजकत्वमा घरदैलो सुरु गरिएको हो ।
पहिलो दिन सो वडाअन्तर्गतको मुख्य बजार डुम्रीचोकका पसलमा पुगेर नगरपालिकामा पसल दर्ता गर्न, नवीकारण गर्न र नियमानुसार नगरपालिकामा राजस्व बुझाउन आग्रह गरिएको वडाध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए । घरदैलोमा कार्यपालिका सदस्य खड्का, वडासदस्य गीता दाहाल, मेलमिलापकर्ता संयोजक विष्णु भण्डारी कट्टेल, कर्मचारी निर्मला सापकोटा र टोल विकास संस्थाका अध्यक्षहरु सहभागी थिए । उद्घाटन कार्यक्रम वडाध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
रत्ननगरका जनप्रतिनिधि घरदैलोमा
रत्ननगरका जनप्रतिनिधि घरदैलोमा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस