प्रमिता ढकाल
भरतपुर, ४ फागुन
५४ वर्षका बुद्धिसागर सुवेदी सरसफाइकर्मी हुन् । उनी भरतपुर महानगरको वातावरण शाखामातहत सरसफाइ कर्मचारीका रुपमा कार्यरत छन् । महानगरले फोहर व्यवस्थापनका लागि प्रत्येक वडा, टोलका घरघरबाट उठाउने फोहर संकलन गर्नु उनको दैनिकी हो ।
दैनिक बिहान ७ नबज्दै काममा खटिन्छन् सुवेदी । तत्कालीन नारायणी नगरपालिका छँदा सरसफाइकर्मीका रुपमा रोजगारमा प्रवेश गरेका उनका लागि भरतपुर महानगर बनेपछि अहिले काम गर्ने क्षेत्र पनि फराकिलो बनेको छ । सिठी फुक्दै घरघरै पुगेर कन्टेनरमा फोहर हाल्दै डम्पिङ साइटसम्म पु¥याउने दायित्वमा सुवेदीसहित तीन जनाको टोली हिँड्छ ।
६ जनाको परिवार पाल्न रोजगारीमा खटिएका सुवेदी यस कर्ममा लागेको करिब ४ वर्ष भयो । तर, सरसफाईकर्मी भनेर इज्जतका साथ हेर्नेहरु कमै भेटेका छन् उनले । “भन्नेहरु त जे पनि भन्छन् नि, उनीहरुको मुख टाल्न कहाँ सकिन्छ ?”, सुवेदीले भने, “मेरो कामप्रति म सन्तुष्ट छु ।”
शुक्रबार उनलाई नारायणगढको स्वस्तिक नेपालले सम्मान ग¥यो । आफ्नो १३ औं स्थापना दिवस तथा सातौं अधिवेशनको सन्दर्भ पारेर संस्थाले उनलाई सम्मान गरेको हो । सरसफाइकर्मी भएकै कारण सम्मानित भएका सुवेदीलाई निकै नौलो लागेको थियो । “अरुले जस्तोसुकै नजरले हेरुन् म आफ्नो कामप्रति गर्व गर्छु भन्ने लाग्थ्यो,” सुवेदीले भने, “मूल्यांकन गर्नेहरु पनि भेट्दा खुसी लागेको छ ।”
जगतपुरका २४ वर्षीय राजन पनि सरसफाइकर्मी हुन् । ९ वर्षदेखि उनी यस पेशामा संलग्न छन् । श्रीमती र एक सन्तानलाई आफ्नो पौरखले पाल्दै आएका राजनलाई सुरुका दिनमा आफ्नो काम देखेर दिक्क नलागेको होइन् । “सिठी फुक्दै घरघर पुग्यो, अलिकति अघि कट्यो भने पनि मान्छेहरु निकै हप्काउने, फोहरको डंगुर उत्तिकै दुर्गन्धित, कस्तो काम गर्न लागेछुजस्तो लाग्थ्यो,” राजनले भने, “तर दिनभरमा शहर सफा देख्दा मन रमाउँथ्यो ।”
विस्तारै उनी यही काममा रमाउन लागे । भरतपुर महानगरले वातावरणमैत्री सरसफाइयुक्त अभियान सञ्चालन गरे यता उनी थप उत्साहित छन् । सरसफाइको क्षेत्रमा काम गर्न थाले । यता उनी फोहर देख्नै सक्दैनन् । कामका खटिएका बेलाबाहेक पनि कहींकतै फोहर देखे उठाएर फोहरदानीमा हाल्न अघि सर्छन् । उनी अरुलाई पनि सरसफाइका लागि सचेत गर्छन् । “आफ्नो घर आँगन सफा राखे न महानगर सफा रहन्छ”, उनले भने, “अरुले गरेको फोहरलाई छिःछि गर्दा आफूले चाँहि के गर्दै छु भन्ने ज्ञान राखे सबै ठीक हुन्छ ।”
भरतपुर महानगरअन्तर्गत सरसफाइकर्मीका रुपमा काम गर्ने बुद्धिसागर र राजनजस्तै १६ जना कर्मचारीलाई नेतृत्व गर्ने सूर्य नगरकोटी छिट्टै महानगर पूर्ण सरफाइयुक्त हुनेमा विश्वस्त देखिए । स्थानीय सरकार बनेपछि सरसफाइको क्षेत्रमा धेरै काम भएको उनको अनुभव छ । महानगरलाई सफा र हरियाली मेयर, उपमेयर, प्रशासकीय अधिकृतलगायत सबै कर्मचारीकै सक्रियतामा सरसफाइ, विभिन्न युवा समूह तथा टोल विकासको अग्रसरतामा भएका अभियानले छिट्टै पूर्ण सरसफाइ हुन्छ जस्तो लागेको उनले सुनाए । “पहिला–पहिला यही नारायणगढ बजारमा कति फोहर हुन्थ्यो, उठाउन पठाउँदा कर्मचारी पनि मुश्किलले तयार हुने अवस्था आउँथ्यो”, नगरकोटीले सम्झिए ।
अहिले कर्मचारी परिचालनमा पनि सहजता आएको छ । महानगरको १३ देखि २९ वडामा उनले आफूमातहत टोली खटाउँछन् । प्रत्यक तीन जनाको टोलीको दैनिक काम गर्ने तालिका नै बनाएका छन् । कुन दिन, कति गते, कुन क्षेत्रमा जाने पहिला नै तय हुन्छ र त्यही तालिकाअनुसार सूर्य आफ्ना साथीहरु पठाउँछन् । महानगरले १ देखि ४ वडामा भने फोहर व्यवस्थापनको लागि निजी संस्थालाई जिम्मा दिएको छ ।
स्वस्तिक नेपालले महानगरका उपप्रमुख पार्वती शाहको उपस्थितिमा कर्मचारीलाई सम्मान गरेको हो । सरसफाइको क्षेत्रमा काम गर्ने कर्मचारीलाई सम्मान गरेर उदाहरण प्रस्तुत गरेको महानगरका उपप्रमुख पार्वती शाहले बताइन् । “हामी महानगरलाई वातावरणमैत्री नमूना महानगर बनाउने अभियानमा छौं,” शाहले भनिन्, “उहाँहरुको काममा साथ दिने हो भने हाम्रो अभियान छिटै पूरा हुनेछ ।” भरतपुर महानगरपालिकालाई वातावरणमैत्री, हरियाली र सफा सहर बनाउन विभिन्न योजनाहरु ल्याइएको उनले बताइन् ।
नगरलाई सफा र हरियाली राख्न भरतपुर महानगरले १ घर २ बिरुवा अभियान पनि चलाइरहेको छ । भरतपुर महानगरको अगुवाइमा प्रत्येक सोमबार नारायणगढको सरसफाइ गरिंदै आएको छ । कार्यक्रममा भरतपुर महानगरको पहिलो वातावरणमैत्री वडा घोषणा भएको भरतपुर–११ का वडा सचिव ओमप्रकाश न्यौपानेले सरसफाइकर्मीलाई सम्मान गरेर उत्प्रेणा दिएको भन्दै संस्थाको प्रशंसा गरे ।
संस्थापक अध्यक्ष हिरामान महर्जनले स्वागत मन्तव्य राखेको कार्यक्रममा संस्थाका अध्यक्ष बालकृष्ण कँडेलले आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गरेको भन्दै महासचिव बासुदेव दवाडी, कार्यसमिति सदस्य नारायणप्रसाद कँडेल र अर्जुन अधिकारीलाई सम्मान गरेका छन् ।
यसैबीच स्वस्तिक नेपालको सातौं अधिवेशनले भरत मल्लको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन गरेको छ । जसको उपाध्यक्षमा बासुदेव दवाडी, महासचिवमा विष्णु लम्साल, कोषाध्यक्षमा गोपाल भट्टराई, सचिवमा नारायणप्रसाद कँडेल चयन भएका छन् भने सदस्यहरुमा हेमन्त केसी, नवराज फूयाँल, कपिलसागर कर्माचार्य, विमल अधिकारी र रुद्रप्रसाद सापकोटा चयन भएका छन् ।