विप्लव काफ्ले
भरतपुर, ११ पुस
नारायणी नदी किनारमा चितवन महोत्सव हुँदै छ । यही पुस २५ गतेदेखि सुरु हुने महोत्सव माघ ४ गतेसम्म चल्ने छ । उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनमा हुन लागेको महोत्सवको तयारी तीव्र पारिएको छ । २०५३ सालदेखि हरेक दुई वर्षमा महोत्सव हुदै आइरहेको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा महोत्सव मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी महोत्सवका गतिविधिलाई परिमार्जन गरिएको बताए । “पर्यटक नै भित्राउने भन्दा पनि पर्यटकीय गन्तव्य उजागर गरिने छ”, उनले भने, “पर्यटनको विकास गर्न योजना बनाउन गोष्ठीको तयारी पनि छ ।”
झण्डै ५० गन्तव्यको अवस्था र विशेषता देखिने तस्विरसहितको नेपाली र अंग्रेजी भाषामा ‘गाइड बुक’ सार्वजनिक गर्ने तयारी रहेको उनले बताए । जलयात्रा, पर्यटकीय गन्तव्यबारे जानकारी, पर्यटन व्यवसायीसँग समन्वय गरेर ‘टुर प्याकेज’ तयार गरिने उनले जानकारी दिए । चितवनको पर्यापर्यटन झल्कने गतिविधि सञ्चालन हुनेछन् । आदिवासी जनजातिको भेषभुषा, कलासंस्कृति अवलोकन गर्न मिल्ने, जनजातिका नमूना घर समावेश हुनेछन् । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जनवारका प्रतिमूर्ति राखिएको कृत्रिम चिडियाखाना, माछाको कलात्मक मूर्ति महोत्सवमा राखिने छ । महोत्सवमा ५ सय स्टल रहने बताए ।
“मेड इन नेपाल परिसर मार्फत नेपाली उद्योग व्यवसायको प्रर्वद्धन गरिने छ”, उनले भने, “स्वदेशी उत्पादनलाई बजारीकरण गर्न महोत्सव सफल हुनेछ ।” महोत्सवमा दोस्रो दिनदेखि कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनमा आधारित कार्यशाला गोष्ठी आयोजना गरिनेछ । विविध खेलकूद, विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, प्रतियोगितात्मक कृषिउपज प्रदर्शनीको विविधता रहने बताए । महोत्सव करिव ५ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ । महोत्सवमा करिव २५ करोडको कारोबार हुने अनुमान गरिएको छ । मौतका कुवा र ध्वनी रहित मनोरञ्जनात्मक फनपार्क सञ्चालन गरिने छ ।