पहिले गाईले डुबायो, अहिले त्यसैले उता¥यो
धु्रवराज खनाल
रत्ननगर, ४ मंसिर
कालिका नगरपालिका–२ कमलपुर टोलका गणेशप्रसाद ढुंगानाले गाईपालन गरेर चुर्लुम्म ऋणमा डुबिएला भन्ने सोचेका थिएनन् । यसैबाट छोराछोरी पढाउन र घर खर्च टार्न सहज हुन्छ भन्ने सोचेर व्यवसाय सुरु गरे । तर, उनको सोचाइअनुसार आम्दानी भएन ।
गाईको आम्दानी गाईलाई नै नपुग्ने स्थिति आयो । गाईपालनलाई आम्दानीको स्रोत बनाउने प्रयास त गरे । तर, सफल हुन सकेन । २५ वटा सम्म गाई पालेका उनलाई १५ लाख जति ऋण लाग्यो । ‘मिल्क होलिडे’, उन्नत जातको गाईको अभाव, दूधको उचित मूल्य नहुनु, विभिन्न रोग लाग्नुजस्ता कारणले नसोचेको ऋणको भार थेग्नु प¥यो ।
“केही हुन्छ भन्ने आशाले गाईपालन गरियो”, ढुंगाना ती दिन सम्झदै भन्छन्, “तर नसोचेको हुन पुग्यो ।” ऋणमा डुबेपछि घरायसी खर्चसमेत धान्न नसक्ने भयो । वि.सं.२०६७ सालमा भारतको मद्रास पुगे । त्यहाँबाट पनि उभो लाग्ने स्थिति नभएपछि २०७१ मा आफ्नै ठाउँ फर्किए । त्यतिबेलासम्म नेपालमा पशुपालनको अवस्था सुध्रिसकेको थियो । फेरि उनले गाईपालन गर्ने सोच बनाए । २०७२ सालमा पहिलेकै व्यवसाय सुरु गरे ।
हाल ९ वटा गाई रहेको उनको फर्मबाट दैनिक ७० लिटर दूध उत्पादन हुन्छ । उनको फर्ममा रहेको गाईले बढीमा एकैपटकमा १२ लिटरसम्म दूध दिन्छ । एउटा गाई ब्याउने अवस्थामा छ । पुनः गाईपाल्न सुरु गरेको तीन वर्षमा ढुंगानाले राम्रै आम्दानी गरिरहेका छन् । उनले दूध बिक्रीबाटै मासिक १ लाख २० हजारसम्म आम्दानी गर्छन् । “कहिले १ लाख त कहिले १ लाख २० हजारसम्म आम्दानी हुन्छ”, ढुंगानाले भने, “खर्च कटाएर ६० हजारसम्म बचत हुने गरेको छ ।”
ढुंगानाकी श्रीमती पार्वतीले अघिल्लो पटक गाईपाल्दा लागेको ऋण विस्तारै तिर्दै गएको सुनाइन् । “त्योबेला गाईपालन गर्दा चुर्लुम्म ऋणमा डुबियो”, पार्वतीले भनिन्, “फेरि आँट गरेर व्यवसाय सुरु ग¥यौं, यही व्यवसायले पहिलेको ऋण तिरिरहेका छौं ।” उनका अनुसार अहिले ५ लाखभन्दा बढी ऋण तिरिसकिएको छ ।
पछिल्लो समय पशुपालनतर्फ यहाँका किसान आकर्षित भइरहेका बेला कालिका नगरपालिकाले पनि किसानलाई अनुदान र प्रोत्साहनका लागि पुरस्कृतसमेत गर्न सुरु गरेको छ । मेयर खुमनारायण श्रेष्ठका अनुसार नगरपालिकाको माथिल्लो भेगका किसानलाई बाख्रा र तल्लो भेगकालाई गाईभैंसी पाल्न अनुदान दिइरहेको छ । “किसानको मागका आधारमा नगरपालिकाले अनुदान दिएको छ”, मेयर श्रेष्ठले भने, “दूध र मासु उत्पादनमा अब्बल बनाउने नगरपालिकाको योजना छ ।”
यसैबीच कालिका नगरपालिकाले व्यावसायिक गाई फर्मको अनुगमन गरेको छ । नगरपालिकाले प्रदान गरेको अनुदानको प्रयोग भए÷नभएको बारे किसानको गोठमै पुगेर अनुगमन गरिएको हो । कालिका नगरपालिका–६ का वडाध्यक्ष विनोद रेग्मीको नेतृत्वमा गरिएको अनुगमनमा पशु विकास शाखा प्रमुख सीताराम मरहठ्ठा, शाखा उपप्रमुख ईश्वरी पौडेललगायतको सहभागिता रहेको थियो । कालिका नगरपालिकाले किसानलाई गतवर्ष काउम्याट तथा घाँसखेतीमा अनुदान दिनुका साथै वार्षिक १० हजार लिटरभन्दा बढी दूध उत्पादन गरी बिक्री गर्ने १२ जना किसानलाई २५ हजारका दरले पुरस्कृत गरेको थियो ।
प्रतिकृया दिनुहोस