पुस्तक वार्ता
‘अप्रिल फुल’ कस्तो उपन्यास हो ?
यो प्रेमिल उपन्यास हो । यसले प्रेम बोलेको छ, यसमा प्रेम बगेको छ । यति भनिरहँदा अप्रिल फुले सामाजिक विषय, घटनाक्र्रम, यथार्थता पनि बोकेको छ । त्यसैले समग्रमा भन्नुपर्दा यो बहुआयामिक छ । यसमा हरेकले आफ्नो व्यक्तिगत तथा सामाजिक कथा पाउनुहुनेछ । त्यसैले यो सबैको आफ्नै उपन्यास हो ।
किताबको नाम कसरी ‘अप्रिल फुल’ रहन गयो ?
अप्रिल फस्र्टलाई जसरी मानिसलाई झुक्याउने, ढाँट्ने रुपमा लिइन्छ, त्यसैगरी मानिसको जीवनमा समयले पनि छल गरिरहेको हुन्छ । हामी नचाहँदा नचाहँदै पनि त्यसमा रुमलिएका हुन्छौँ । यी र यस्तै सन्दर्भहरु उपन्यासमा पाउन सकिन्छ । त्यसैले पनि यसको नाम अप्रिल फुल रहन गएको हो । साथै, यसमा अप्रिल फुलका प्रसंगहरु पनि छन् ।
उपन्यासबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
निकै नै राम्रो प्रतिक्रिया पाइरहेको छु । मैले सोचेको भन्दा पनि धेरै राम्रो । प्रत्येक पाठकले यसलाई आफ्नै रचनाका रुपमा लिनुभएको छ । प्रत्येक पाठकले सकारात्मक प्रतिक्रिया दिइरहनुभएको छ । साथै, बिक्री वितरणका हिसाबले पनि निकै राम्रो छ । यति छोटो समयमै पाएको प्रतिक्रियाले म निकै उत्साहित छु ।
प्रेमिल उपन्यासमा यौन छताछुल्ल हुनु पाठकको रोजाइँ हो कि लेखक स्वयंको ?
अप्रिल फुलमा यौन छताछुल्ल छैन । यसले यौनको व्यक्तिगत र सामाजिक पाटो केलाएको छ । यौनलाई व्यक्ति र समाजले हेर्ने दृष्टिकोण के हो ? भन्ने कुरा प्रस्तुत गरेको छ । यौनको बुझाई, यसको दायरा र यौनका विषयमा रहेका सकारात्मक तथा नकारात्मक धारणा केलाउने प्रयास गरेको छु । यौन जसरी सर्वव्यापी छ, अप्रिल फुल पनि सर्वव्यापी छ । जसरी मानिसको जीवनमा यौन अपरिहार्य छ, त्यसरी नै अप्रिल फुल अपरिहार्य छ । एकपटक सबैले पढ्नै पर्छ ।
किताबको प्रमोसनमा देशका प्रमुख सहरमा पुग्दा कस्तो प्रतिक्रिया पाउनुभयो ?
यति राम्रो प्रतिक्रिया आउला भनेर त मैले सोचेकै थिइनँ । साहित्यकार, समालोचक, टिप्प्णीकार, पत्रकार र आम पाठकबाट निकै उत्साहपूर्ण प्रतिक्रिया आइरहेको छ । उपन्यास पढ्नुभएकाले तारिफ गर्नुभएको छ भने नपढ्नुभएकाले पढ्दै हुनुहुन्छ । यात्राका क्रममा मसँग ठोक्क्निुभएका सबैले अप्रिल फुललाई उत्ति नै माया दिनुभएको छ । सबैप्रति म अभारी छु ।