३० भदौ ,भरतपुर ।
स्थानीय सरकारले फोहरमैला व्यवस्थापनमा खासै चासो दिइएको पाइदैन । अधिकांश बजेट पूर्वाधार विकासमा खर्चिदै आएका स्थानीय तहले फोहरमैला व्यवस्थापनको काम स्वयं नगरबासीकै हो भनेजसो गरी उति वास्ता गरेको देखिदैन । भरतपुर महानगरपालिकामा व्यवस्थित ल्याण्डफिल साइटको कुरा वर्षौंदेखि उठेपनि अहिलेसम्म बन्न सकेको छैन । अरु नगरपालिका र गाउँपालिकाको पनि हालत उस्तै–उस्तै छ । आज विश्व सरसफाइ दिवस पनि हो । यही मेसोमा चितवनका बजार क्षेत्रका फोहर व्यवस्थापनलाई स्थानीय तहले कत्तिको महत्व दिएका छन् त भन्ने विषयलाई विप्लव काफ्ले र ध्रुवराज खनालले नियालेका छन् ः
सरसफाइमा न्यून बजेट
भरतपुर महानगरपालिकाले फोहरमैला व्यवस्थापनमा वार्षिक १ करोड २५ लाख खर्च गरेको देखिन्छ । तर, महानगरको मुख्य कार्यालय आसपासकै बजार नारायणगढ, भरतपुरमा फोहर संकलन नियमित नहुने, ढल सफाइमा हेलचक्रायाइँ हुँदै आएको छ । पहाडी भूगोल भएको इच्छाकामना गाउँपालिकाले वार्षिक करिब १० लाख खर्चदैछ । तर, मुग्लिङ बजार, चुम्लिङटार, कुरिनटार, फिस्लिङलगायतका क्षेत्रमा नजिकैको फोहर सिधै त्रिशूलीमा फाल्ने गरिएको पाइन्छ । माडी नगरपालिकाले वार्षिक करिब ५ लाख खर्चदैछ । तर, नगरपालिकाले मुख्य बजार बरुवा, बसन्तपुर, किर्तनपुर, देवेन्द्रपुरकै नकुहिने फोहरसमेत व्यवस्थापन गर्न सकेको छैन । जनप्रतिनिधिले आफ्नो वडा, टोल सफा बनाउने भनेपनि त्यसका लागि आवश्यक बजेट, डम्पिङ साइटको व्यवस्थापन गर्न सकेको पाइदैन ।
महानगरमै छैन ल्याण्डफिल साइट
भरतपुर–१ स्थित जलदेवी सामुदायिक वनको १५ विघा क्षेत्रफलमा ल्याण्डफिल साइटका लागि सरकारले २०६८ सालमा भोगचलनको जिम्मा दियो । त्यो जग्गा बरारबरको क्षेत्रफलको वन तयार गर्नुपर्ने शर्त पूरा गर्न २०७२ सालमा माडी–१ अमिलियामा जग्गा खरिद भयो । न त त्यहाँ वृक्षरोपणको काम भयो, न त ल्याण्डफिल साइटको गुरुयोजना नै बन्यो । महानगरले हाल दैनिक करिब ६५ टन फोहर संकलन गर्छ । तर, २७, २८ र २९ वडाको फोहर संकलन काम भएकै छैन ।
यस्तै १३ देखि २६ नम्बरका वडामा पाक्षिक वा मासिकरुपमा नकुहिने फोहर संकलन हुने गर्छ । १ देखि ७ नम्बर वडासम्म ग्रीन नेपाल सिटी वेष्ट म्यानेजमेण्ट र ८ देखि १२ सम्मको वेष्ट म्यानेजमेण्ट ग्रुपले फोहर संकलन गरेवापत मासिक साढे ५ लाख रुपैयाँ महानगरले बुझाउँछ । ती निजी क्षेत्रले सरसफाइ शुल्कसमेत लिन्छन् । “ल्याण्डफिल साइट अब बन्ने संकेत देखिएको छ”, महानगरका वातावरण शाखाका प्रमुख वरिष्ठ ईञ्जिनियर विराट घिमिरे भन्छन्, “फोहरबाट ऊर्जा कार्यक्रम अन्तर्गतको २५ करोडको आयोजना सञ्चालन हुँदैछ, जसबाट कुहिने फोहर व्यवस्थापन हुँदैछ ।” महानगरमा संकलित फोहर नारायणी नदी किनारका तटीय खोल्साखोल्सी पुर्ने काम गरिएको छ । कोरियन संस्था सुडोकोन ल्याण्डफिल साइट म्यानेजमेण्ट कोअपरेशन (एसएलसी) ले ७ करोड खर्चेर महानगरको फोहरमैला व्यवस्थापनको गुरुयोजना बनाउन सहयोग गर्न तयार भएको छ । “घर–घरबाटै फोहर वर्गीकरण नहुँदा चुनौती छ”, उनी भन्छन्, “२÷३ वर्षमै ल्याण्डफिल साइट बनेपछि यो समस्या हल हुन्छ ।”
माडीमा शून्य व्यवस्थापन
माडी नगरपालिकाले बसन्तपुर बजारमा डष्टविनमा संकलित फोहर व्यवस्थापनमा सामाजिक संस्था सीप नेपालसँग समन्वय गरेको छ । बेलाबखत बजार क्षेत्र सफाई गर्ने कुचिकारको व्यवस्था गरिएको छ । तर, अन्य क्षेत्रबाट उत्पादन हुने नकुहिने फोहर व्यवस्थापन गर्नेबारे ध्यान दिएको छैन । “प्रशस्तै खुल्ला जमिन छ, बस्ती पातलो छ”, उपप्रमुख ताराकुमारी काजीमहतोले भनिन्, “घरघरमै फोहर व्यवस्थापन गर्न स्थानीयलाई जागरुक बनाइनेछ ।” उनले ल्याण्डफिल साइट बनाउने योजना नरहेको बताइन् । “कुहिने फोहर घरघरमै व्यवस्थापन भैरहेको छ”, उनले भनिन्, “नकुहिने फोहर संकलन गर्न छिटै योजना बनाउने छौँ ।”
माडीका मुख्य बजारमा समेत फोहर संकलन गर्ने काम भएको पाइदैन । बसन्तपुर बजारमा राखिएका १ सय थान डष्टविनमा जम्मा भएका प्लाष्टिक सुईरो कार्यक्रमका लागि २ वटा सानो गाडीमा मासिकरुपमा पठाउने गरिन्छ । नजिकैका नदी, खुल्ला जमिनमै नकुहिने फोहर फाल्ने गरिएको देखिन्छ ।
इच्छाकामनामा घरघरमै कार्ड वितरण तयारी
इच्छाकामना गाउँपालिकाले सबै घरधुरीलाई ‘सरसफाइ कार्ड’ वितरण गरेर फोहर व्यवस्थापनको तयारी गरेको छ । मासिक २० देखि ४० रुपैयाँ शूल्क तिरेपछि घरघरबाटै फोहर संकलन गर्ने कामलाई छिटै बढाउने तयारी गरेको छ । “घरघरमा च्याम्बर, डष्टविन राखिनेछ, संकलित फोहर उठाइनेछ”, गाउँपालिका प्रमुख गीताकुमारी गुरुङले भनिन्, “कुहिने फोहरबाट मल, नकुहिने फोहरलाई प्रशोधन गरेर पुनः प्रयोग गर्ने योजना ल्याउँदैछौँ ।” सरसफाइ व्यवस्थापनका लागि कार्यविधि बन्दै गरेको उनले बताइन् । “घनावस्ती भएको मुग्लिङलगायतका क्षेत्रमा त्रिशुलीमै फोहर मिल्काउने गरेको पाएका छौँ”, उनले भनिन्, “अब निरीक्षण गरेर कारबाही गर्छौँ ।”
ल्याण्डफिल नहुँदा दैनिक संकलित फोहर व्यवस्थापनमा चुनौती देखिएको बताइन् । “वडा नम्बर ४ को सोताबगरमा १० कठ्ठा जमिन व्यवस्था गरेका छौँ”, उनले भनिन्, “फोहर वर्गीकरण गरेर सोहीअनुसार व्यवस्थापन गर्दैछौँ ।” उनले घरघरमा संकलित कुहिने फोहरबाट जैविक मल बनाउन चेतनामूलक कार्यक्रम गरिने बताइन् । सोताबगरमा करिब १० लाखको लागतमा सानै भएपनि ल्याण्डफिल साइट निर्माण गरिने उनले बताइन् ।
दीर्घकालीन ल्याण्डफिल्ड साइटको अभाव
केही समय अघिसम्म फोहर व्यवस्थापनको काम टाउको दुःखाइको विषय बनिरहेका बेला पूर्वी चितवनका स्थानीय तहले यसको समाधान गर्दै लगेका छन् । फोहर व्यवस्थापन प्रमुख चुनौतीको रुपमा खडा रहेपनि यसको अल्पकालकालीनसँगै दीर्घकालीन समाधानका प्रयासमा स्थानीय तह लागेका हुन् । तर, कुनैपनि नगरपालिकाले स्थायी ल्याण्डफिल्ड साइट भने पाएका छैनन् ।
यहाँ रहेको रत्ननगर नगरपालिकाले वर्षौंदेखि सामुदायिक वनमा फोहर फाल्दै आएको छ भने खैरहनीमा शुल्कमा आधारित फोहर व्यवस्थापनको काम सुरु गरेको छ । राप्ती नगरपालिकाले व्यक्तिको जग्गा भाडामा लिएर शुल्कमै आधारित फोहर व्यवस्थापनको काम गरिरहेको छ । कालिका नगरपालिकाले भने जग्गा खोजिरहेको छ । तर, अझै पाउन सकेको छैन । चितवनको ठूलो नगरपालिकाको रुपमा स्थापित रत्ननगर नगरपालिकाले कुहिने फोहरबाट अर्गानिक मल बनाउन भवन निर्माण गरेको छ ।
फोहरको वर्गीकरणपछि कुहिनेलाई मेसिनद्वारा अर्गानिक मल बनाउने गरी काम अघि बढिरहेको रत्ननगरका मेयर नारायण वनले बताए । “हामीसँग स्थायी ल्याण्डफिल्ड साइट त छैन”, मेयर वनले भने, “दीर्घकालीन समस्या समाधानका लागि फोहरको वर्गीकरण गरी कुहिनेबाट अर्गानिक मल बनाउने तयारीमा छौं ।” रत्ननगरले लामो समयदेखि पञ्चकन्या सामुदायिक वनभित्र फोहर थुपार्दै आएको छ । रत्ननगरको वडा नम्बर ५, ६ र ७ मा सिटी क्लिन नामक गैरसरकारी संस्थासँग सम्झौता गरी फोहर व्यवस्थापनको काम गर्न लागिएको मेयर वनले बताए । रत्ननगरमा दैनिक १२ टनसम्म फोहर संकलन हुँदै आएको छ ।
खैरहनीले वैकल्पिक ऊर्जासँग समन्वय गर्दै
चितवनको तेस्रो बजारको रुपमा रहेको पर्सा बजार खैरहनी नगरपालिकाको क्षेत्र हो । खैरहनीको पर्सालगायत आसपासका क्षेत्र बजारीकरण हुँदै गएको छ । खैरहनीको बजार क्षेत्र मात्र नभई भित्री क्षेत्रमा पनि फोहर चुनौतीको रुपमा छ । स्थानीय तह कार्यान्वयअघि समस्या रहेपनि त्यसपछि भने फोहर व्यवस्थापनको काम सहजरुपमा अघि बढाएको छ ।
फोहर संकलनको जिम्मा पाएको नेशनल वेस्ट मेनेजम्यान्ट एण्ड रिसाईक्लिङ सेन्टरले खैरहनीमा फोहर उठाइरहेको छ । संकलित फोहरलाई लिजमा जग्गा लिएर थुपार्ने काम भइरहेको छ । फोहर व्यवस्थापनको काम चुनौतीको रुपमा रहेकाले दीर्घकालीन समाधानका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग समन्वय गरेर प्रक्रिया अघि बढाइएको खैरहनीका मेयर लालमणि चौधरीले बताए । “कुहिने वस्तुबाट ग्याँस प्लान्ट निर्माण गर्ने गरी छलफल भइरहेको छ”, मेयर चौधरीले भने, “सर्वे भएर डीपीआर तयार भइरहेको र केन्द्रले पनि सम्भावना रहेको बताएको छ ।” खैरहनीमा दैनिक १० टन भन्दा बढी फोहर संकलन हुँदै आएको छ ।
राप्तीले बल्ल पायो जग्गा
राप्ती नगरपालिकाले फोहर व्यवस्थापनका लागि करिब एक साताअघि मात्रै जग्गा भाडामा लिएको छ । फोहर व्यवस्थापन गर्न नसकेको भनी निकै आलोचना खेप्दै आएको राप्तीले व्यक्तिको जग्गा भाडामा लिएर व्यवस्थापनको काम सुरु गरेको नगरपालिकाकी मेयर प्रभा बरालले जानकारी दिइन् । राप्ती–२ मा स्थानीय धीरेन्द्र पाण्डेको १० कठ्ठा जग्गा ५ वर्षका लागि भाडामा लिएको उनले बताइन् । “१० दिन अघिसम्म फोहर व्यवस्थापनको काम टाउको दुःखाइको विषय थियो”, मेयर बरालले भनिन्, “बस्तीबाट टाढा रहेको व्यक्तिको जग्गा भाडामा पाएपछि अब पाँच वर्षलाई ढुक्क भयो ।”
राप्तीमा सिन्धु सरसफाइ केन्द्रसँग सम्झौता गरी फोहर संकलनको काम भइरहेको छ । तर, केही समयदेखि यहाँ फोहर उठ्न सकेको छैन । फोहर संकलनवापत एक घरधुरीले वार्षिक २ सय ५० रुपैयाँ तिर्नुपर्छ । केन्द्रले फोहर वर्गीकरण गरेर राख्न झोलासमेत दिने गरेको छ । राप्तीमा दैनिक करिब ३ टन फोहर संकलन हुने गरेको छ । नगरको ४ वटा वडामा पहाडी क्षेत्रमा पर्ने भएकाले त्यहाँ संकलनको काम भएको छैन ।
कालिकामा टोल सुधार नै काम गर्छ
फोहरको कम समस्या झेलिरहेको चितवनको कालिका नगरपालिकाले टोल सुधार समितिसँग समन्वय गरेर फोहर व्यवस्थापनको काम गरिरहेको छ । टोल सुधार समितिले काम गरेपनि बजारीकरण हुँदै गरेको कालिका नगरपालिकाले फोहर व्यवस्थापनका लागि ठाउँ भने खोजिरहेको जनाएको छ । “ठाउँ पाउनु त टाढाको कुरा कालिकाका मेयर खुमनारायण श्रेष्ठले भने, “घर अगाडिबाट पनि फोहर लैजान स्थानीयले दिदैनन् ।” टोलसुधार समितिले प्रत्येक घरलाई फोहरको वर्गीकरण गरेर व्यवस्थापन गर्न लगाउँछ । “ग्रामीण क्षेत्र धेरै भएकाले खासै फोहरको समस्या छैन”, मेयर श्रेष्ठले भने, “ चुनौतीको रुपमा देखिन सक्ने भएकाले सामुदायिक वनहरुसँग फोहर व्यवस्थापनको ठाउँका लागि छलफल भइरहेको छ ।”