चितवन, साउन ७ – आज साउन महिनाको पहिलो सोमबार हिन्दू धर्मावलम्बीहरु शिव मन्दिरमा पूजा आराधना गरी मनाउँदैछन् ।
साउन महिनाको सोमबार शिवको ब्रत बसे मनले चिताएको पूरा हुने विश्वास रहेकाले देशभरिका शिब मन्दिरमा धर्मावलम्बीको भीड लागेको छ ।
विशेषगरी महिलाहरु हरियो रंगका चुरा, मेहंदी र गेरु बस्त्र लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन् । साउनको पहिलो सोमबार पारेर नारायणी नदीको जल लिएर देवघाट पुग्ने बोलबम यात्रीको संख्या आज धेरै छ ।
देवघाटमा बोलबम मेला भर्न नेपालका बिभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरु देवघाट पुगेका छन् । रातिदेखिनै भक्तजनहरुको देवघाटमा भेला हुने क्रम शुरु भएको थियो । दिउँसो पनि जल चढाउन देवघाट जाने भक्तजनको संख्या धेरै रहेको देवघाट क्षेत्र बिकास समितिले जनाएको छ ।
पछिल्ला बर्षहरुमा बोलबममा युवा युवतीको संख्या धेरै हुने गरेको छ । साउन महिनाभर देवघाटमा बोलबम मेला लाग्ने गर्दछ । विशेषगरी सोमबार तीर्थालुहरुको बढी भीड लाग्ने गरेको छ ।