भरतपुर, ३ साउन ।
भरतपुर–१९ रानीपोखरी स्थित सुकुम्बासी बस्तीमा बस्दै आएकी सीता परियारको परिवारलाई कांग्रेस नेता दिनेश कोइरालाको अगुवाईमा घर सहयोग गरिएको छ । गत वैशाखमा विद्युत मिटर बक्समा आगलागी भएपछि घरमा क्षती पुगेको थियो । ६६ हजार २ सय ६० रुपैयाँ खर्चेर बनाइएको टिनले छाएको घर पुर्ननिर्माण गरेर हस्तान्तरण गरिएको छ । बिहीबार एक कार्यक्रमकाबीच सो घर हस्तान्तरण गरिएको छ । परियार सहज रुपमा बेल्न नसक्ने अवस्थाकी छिन् । आर्थिक विपन्नतासँग जुध्दै आएकी परियारका ठुलो छोरा विदेश गएपनि सम्पर्कमा छैनन् भने अर्का छोरा सुस्तमनस्थितिका छन् । सीताकी छोरी पार्वती परियारले घर पुर्ननिर्माणमा सहयोग माग्दै धेरै भौतारिएको स्मरण गरिन् । “सहयोग जुट्यो, टुटेको मन जोडिएको छ”, उनले भनिन्, “सहयोग गर्नुहुनेै सबैप्रति आभारी छौँ ।”
कोइराला कांग्रेस महासमिति सदस्य, युवा नेता तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष हुन् । उनकै पहलमा नारायणगढ, गीतानगर, बीसहजार, शारदानगर जेसीजले १०÷१० हजार, भिष्मकान्त कोइरालाले २० हजार, हिरामान महर्जन र शोमप्रसाद काप्रीले ५÷५ हजार सहयोग गरेका थिए । दलित मुक्ति माचौले सिमेन्ट, ढोकाचौकोस् रड, ढुंगा, मुक्तिराम अधिकारीले टिन, द्रोण गुरुङले झ्याल र ढोका १÷१ थान, जीतु परियार र प्रेम दराईले ज्याला, टेकदेव गुरुङले ढुङ्गा सहयोग गरेका थिए ।
घर हस्तान्तरण कार्यक्रममा बोल्दै युवा नेता दिनेश कोइरालाले समस्यामा परेकालाई सहयोग गर्ने कार्यमा सघाउने सबैलाई धन्यवाद दिए । “आगलागीले क्षती भएको घरको पुर्ननिर्माण भएको छ”, उनले भने, “सानो सहयोगले सीताको परियारलाई ठुलो राहत मिलेको छ ।” यस्तै सोहि अवसरमा कोइरालाको आह्वानमा संकलित नगद ५ हजार सहित १ बोरा चामल र ५ किलो दाल समेत हस्तान्तरण गरिएको थियो । कार्यक्रम भरतपुर वडा न १९ का वडा अध्यक्ष कर्ण बहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।