विनोदबाबु रिजाल
नेपाली क्रिकेटका एक प्रतिभाशाली अलराउण्डर शक्ति गौचन अब अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली राष्ट्रिय जर्सीमा देखिनै छैनन् । भलै उनले नेदरल्याण्डसँग अन्तर्राष्ट्रिय एकदिवसीय खेल्न बाँकी छ । नेपाली क्रिकेटम पछिल्लो १५ वर्ष प्रभावशाली प्रदर्शन गरेका उनी अब थाकेका छन् । र त घोषणा गरेका छन् कि अब नेदरल्याण्डसँगको खेल नै अन्तर्राष्ट्रिय खेल जीवनको अन्तिम खेल हो । उनको सुन्दर घोषणा छ, ‘अन्तिम खेल भने आफ्नै देशमा खेल्नेछु ।’ जहाँबाट खेल्न जानें खेलजीवन त्यहीं अन्त्य गर्छु भन्ने भावनाले उनको राष्ट्रप्रेम छर्लङ्ग हुन्छ ।
शक्ति नेपाली क्रिकेटका लागि अमूल्य खेलाडी बने । उनले टिमलाई धेरैचोटि संकटबाट जोगाए । दायाँ हातले गर्ने ब्याटिङ होस् वा बायाँ हातले गर्ने लेग स्पीन बलिङ दुवैमा उनी उत्तिकै फिट रहे । राष्ट्रिय टोलीका कप्तान पारस खड्काले गौचनले नेदरल्याण्ड टूरपछि राष्ट्रिय टिममा छनोट नहुने गरी सन्यास लिन लागेको जानकारी दिएका छन् । त्यसो त गौचन आफैले पनि यसलाई पुष्टि गरिसकेका छन् । “विदेशमा हुने यो मेरो अन्तिम खेल हो । मैले पूर्णरूपमा सन्न्यासको घोषणा गरेको छु”, गौचनले भनेका छन्, “घरेलु भूमिमा नेपालबाट अन्तिम खेल खेल्नेछु ।”
अन्तर्राष्ट्रिय खेल
सन् २००२ मा ओमानविरुद्ध खेल्दै गौचनले राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । त्यस सिरिजमा उनले २.२८ इकोनोमी बलिङ फालेर ७ विकेट लिए । पहिलो खेलमा नै उनले आफूलाई ‘हुने बिरुवाको चिल्लो पात’ प्रमाणित गरेका थिए । अन्तराष्ट्रिय क्रिकेटमा ह्याट्रिक गर्ने उनी नेपालका पहिलो खेलाडी हुन् । ९ अन्तर्राष्ट्रिय टी–ट्वान्टी खेलेका गौचनले ८ विकेट लिएका छन् । यस्तै लिस्ट ‘ए’ बाट १८ विकेट लिएका थिए ।
सन् १९८४ मा जन्मिएका गौचनले सन् २००१ मा यु–१७ एसिया कप खेलेका थिए । बंगलादेशमा भएको यो सिरिजमा उनले ओमानविरुद्ध बलिङ गरेका थिए । त्यसपछि सन् २००२ मा यु–१९ विश्वकप खेले, जुन न्युजिल्याण्डमा भएको थियो । त्यही वर्ष उनले नेपाली सिनियर टिममा डेब्यु गरे । सिनियर टिमबाट उनले सन् २००२ मा एसीसी ट्रफी सिंगापुरमा खेलेका थिए । त्यसपछि पनि उनले २ वर्षसम्म यु–१९ उमेर समूह क्रिकेट खेले । युथ एसिया (सन् २००३), भारत टुर र सन् २००४ मा भएको यु–१९ विश्वकपमा पनि उनले खेले ।
त्यसपछि फेरि उनले २००४ मार्चबाट सिनियर टिममा कमब्याक गरे । उनले त्यही वर्ष मलेसिया र युएईविरुद्ध आईसीसी इन्टरकन्टिनेन्टल कप खेले ।
उनीसँग नेपाली क्रिकेटले गरेको सबैखाले अन्तर्राष्ट्रिय संघर्षमा साक्षी बसेको अनुभव छ । नेपाल डिभिजन ५ देखि डिभिजन १ सम्म पुग्दा अनेक आरोह–अवरोह पार गरेको उनलाई थाहा छ । सन् २०१२ मा उनले डिभिजन फोरमा मलेसियाविरुद्ध गरेको धारिलो बलिङले रेकर्ड नै कायम गरेको छ । उनले सीमित ओभरको म्याचमा गरेको त्यो प्रदर्शनले अझै उनको महत्व बढायो । त्यस खेलमा १० ओभर बल फालेका उनले ८ मेडन राख्दै २ रन मात्रै खर्चेर ३ विकेट खसाले । यो प्रदर्शन वेस्ट इन्डिजका फिल सिमोन्सले १९९२ मा पाकिस्तानविरुद्ध १० ओभरमा ८ मेडन राख्दै ३ रन खर्चेर लिएको ४ विकेटभन्दा केही कम हो ।
त्यसपछि उनलाई आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले ट्रायलको मौका दियो । उनले छनोट गराउन त सकेनन् । तर, धेरै सिक्ने मौका पाए । नेट प्राक्टिसमा उनले भारतीय लिजेन्डरी ब्याट्सम्यान राहुल द्रविडलाई आउट गरेर सबैलाई प्रभावित गरे । त्यसपछि राजस्थानले ट्वीट गर्दै भनेको थियो, “अहिलेका लागि शक्ति गौचनले महत्वपूर्ण अनुभव हामीसँग हासिल गरेका छन् । आगामी दिनमा उनले नेपाली क्रिकेटका लागि महत्वपूर्ण योगदान गर्न सक्नेछन् ।”
गौचनले टी–ट्वान्टीमा पनि प्रदर्शन गरे । उनले पहिलोपटक छोटा ओभरको क्रिकेट खेल्ने क्रममा पहिलो अन्तराष्ट्रिय टी–ट्वान्टी सन् २०१४ मा खेले । उनले हङकङविरुद्ध ४ ओभर बलिङ गरेर ९ रन खर्चेर ३ विकेट लिएपछि म्यान अफ दी म्याच बने ।
किन महत्वपूर्ण शक्ति ?
शक्तिको शक्ति बलमा मात्रै होइन, ब्याटमा पनि उत्तिकै झल्एिको छ । उनी अन्तर्राष्ट्रिय क्रिकेटमा शतक हान्ने दोस्रा खेलाडी हुन् । आईसीसी वल्र्डकप क्वालिफायर खेल्दा सन् २००५ मा उनले इटालीविरुद्ध १०३ बलमा १०६ रन हाने । त्यसअघि नेपाली क्रिकेटमा अन्तर्राष्ट्रिय शतक राजु खड्काको नाममा मात्रै थियो । उनले सन् २००४ मा भुटानविरुद्ध ५० बलमा १०५ रन हानेका थिए ।
सन् २०१० को एसियन गेम्स र २०११ को एसीसी टी–ट्वान्टी कपमा उनलाई टिममा राखिएन । नेपाली क्रिकेट समर्थकले उनलाई नेपाली क्रिकेटका लागि उनी ‘अनफिट’ भएको भन्दै आलोचना गरे । तर, उनले निरन्तर संघर्ष गरे र फेरि टिममा फर्किए । उनले सन् २०१२ को आईसीसी टी–ट्वान्टी क्वालिफायरमा १६ विकेट मात्रै लिएनन्, बढी विकेट लिनेमध्ये प्रतियोगिताकै दोस्रो नम्बरमा परे । त्यही प्रतियोगितामा उनले डेनमार्कविरुद्ध ह्याट्रिक गरे । त्यही प्रतियोगितापछि नै उनलाई राजस्थानले बोलाएको थियो ।
यसपछि पनि उनी टिमका लागि प्रेरणा बनिरहे । नेपाल निरन्तर माथिल्लो डिभिजनमा चढ्दै गर्दा र अन्तर्राष्ट्रिय टी–ट्वान्टी वल्र्डकप खेलिरहँदा उनी महत्वपूर्ण सदस्य बने । उनी ईएसपीएन क्रिकइन्फोको विश्वका बेस्ट ११ मा पर्ने दोस्रो खेलाडी हुन् । उनीबाहेक कप्तान पारस खड्काले मात्रै यो अवसर पाएका छन् ।
मुख्य योगदान
शक्तिले नेपाली क्रिकेटका लागि धेरै गरेका छन् । डिभिजन फोरदेखि उनकै योगदानले कयौं खेलमा नेपाललाई उत्कृष्ट सावित गरेको छ । उनले सन् २०१२ मा एसीसी एलिट ट्रफीमा लिएको १५ विकेट, सोही वर्ष आईसीसी टी–ट्वान्टी क्वालिफायरमा लिएको १६ विकेट र सोही वर्ष नै डिभिजन फोरमा लिएको १० विकेट महत्वपूर्ण योगदान हुन् । सन् २०१४ मा नेपालले आईसीसी वल्र्डकप टी–ट्वान्टी खेल्दा हङकङविरुद्ध ३ विकेट लिएर म्यान अफ दी म्याच बनेका थिए । नेपालको लागि अहिलेसम्मकै ठूलो प्रतियोगिता हो वल्र्डकप । समूह चरणको तीन खेलमा शक्तिले ५ विकेट लिएका थिए । त्यही वर्ष उनले एसिएन गेम्समा ३.५४ को इकोनोमीमा ५ विकेट लिए । त्यही वर्ष आईसीसी वल्र्ड क्रिकेट डिभिजन थ्रीमा १० विकेट लिए । त्यसमा उनको इकोनोमी २.८७ मात्रै थियो । त्यस्तै सन् २०१५ मा भएको आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टुमा उनले ३.४ इकोनोमीमा ७ विकेट लिए ।
न्युजिल्याण्डका पूर्व क्रिकेटर इयान ओब्रिनले आफ्नो ट्वीटर ह्याण्डलमा शक्ति गौचनको तारिफ गरेका छन् । उनले न्युजिल्याण्डको क्लब क्रिकेटले शक्तिजस्तो खेलाडीलाई ‘पिक’ गर्नुपर्ने भनेका छन् । “शक्तिलाई न्युजिल्याण्डको क्रिकेट क्लबले पिक गर्नुपर्छ”, उनले भनेका छन्, “यसको दुई कारण छन् : पहिलो उनी अभूतपूर्व छन् र अर्को म सिक्न चाहन्छु कि उनी र उनको क्रिकेटबारेमा ।”
सधैं सम्झनामा शक्ति
शक्तिले गर्ने स्पीन बलिङ क्रिकेटमा जति शालिन देखिन्छ, शक्ति पनि त्यस्तै शालिन छन् । त्यसैले गर्दा उनका समर्थक पनि बढेका हुन् । उनी वर्तमान क्रिकेट टिमका सबैभन्दा सिनियर खेलाडी हुनुको नाताले सबै युवा क्रिकेटरका लागि उनी ‘लिजेन्ड’ हुन् । उनीसँग घरेलुदेखि अन्तर्राष्ट्रिय पर्याप्त अनुभव छन् । उनले आफ््नो उद्गम रुपन्देहीमा क्रिकेट एकेडेमी पनि खोलेका छन् ।
त्यसले क्रिकेटर उत्पादन पनि गरिरहेको छ । उनी अहिले ३४ वर्षका भए । अन्तर्राष्ट्रिय खेलका हिसाबले उनको उमेर ‘फेजआउट’ भएपनि खासमा उनी ‘बूढा’ भएका होइनन् । आगामी दिनमा नेपाली क्रिकेटले उनीबाट धेरै कुरा लिन सक्छ । उनलाई विभिन्न तरिकाले नेपाली क्रिकेटको वरिपरि नै राख्न सकिन्छ । उनीसँग रहेको ट्यालेन्ट र अनुभव दुवै नेपाली क्रिकेटको सम्पत्ति हुन् ।
यसलाई भरपुर उपयोग गर्न सकिन्छ । सोझोरुपमा भन्नुपर्दा प्रशिक्षकका रुपमा उनलाई प्रयोग गर्न सकिन्छ । नेपाली क्रिकेटमा ‘स्यागी दाइ’ उनलाई मायाले भनिने उपनाम हो । त्यही स्यागी दाइ अब खेलाडीका रुपमा ब्याट नसमाए पनि ब्याट समाउनेको अभिभावकको रुपमा रहन सक्छन् ।