ध्रुवराज खनाल/कायाकैरन
रत्ननगर,८ असार । नेपाल सरकारले सन् २०२२ सम्म दुर्लभ वन्यजन्तु बाघको संख्या दोब्बर बनाउने लक्ष्य लिएको छ । पारिस्थितिक प्रणालीलाई सन्तुलन राख्न बाघ आवश्यक पर्ने र बाघलाई पर्यापर्यटनसँग जोड्दै अर्थतन्त्रको विकास गर्न सो अवधिमा नेपालमा बाघको संख्या दोब्बर बनाउने सरकारले लक्ष्य लिएको हो ।
सरकारको लक्ष्यमा राष्ट्रिय निकुञ्ज, मध्यवर्ती, सामुदायिक वन, संरक्षणसम्बन्धी संघसंस्था तथा व्यक्तिहरु तल्लिन छन् । नेपालमा रहेको बाघको संख्यामध्ये आधा भन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा पाइन्छ । बाघका लागि चितवन निकुञ्ज उपयुक्त स्थान हो । नेपालभर बाघको संख्या १९८ रहेकोमा चितवन निकुञ्जमा मात्रै १ सय २५ वटा छन् । बाघको संरक्षणसँगै संख्या दोब्बर बनाउन मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत जनस्तरबाट बाघ संरक्षण उपसमिति गठन गरेर विभिन्न क्रियाकलाप भइरहेका छन् ।
बाघ संरक्षणकै लागि उपसमितिको आयोजनामा विद्यार्थी केन्द्रित कार्यक्रम सुरु गरिएको छ । विद्यार्थीमार्फत घर हँुदै समुदायमा चेतनाको स्तर छिटो प्रवाह हुने भएकाले चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टरअन्तर्गत रहेका विद्यालयमा पाटेबाघ संरक्षणसम्बन्धी विद्यालयस्तरीय सचेतना कार्यक्रम बिहीबारदेखि सुरु गरिएको उपसमितिका अध्यक्ष जितबहादुर तामाङले जानकारी दिए ।
कार्यक्रमको शुभारम्भ गर्दै रत्ननगर नगरपालिका प्रमुख नारायण वनले लोपोन्मुख प्रजातिको रुपमा रहेको पाटेबाघको संरक्षण गर्नु आवश्यक रहेको बताए । “दुर्लभ वन्यजन्तुको संरक्षण गर्नु हाम्रो दायित्व हो”, नगर प्रमुख वनले भने, “बाघलाई देखाएर आम्दानी पनि बढ्ने भएकाले सबै क्षेत्र यसमा क्रियाशील हुनुपर्छ ।” बासस्थान र आहारका कारण बाघको मृत्यु भइरहेको भन्दै उनले यसको बासस्थान र आहारमा विशेष ध्यान दिनुपर्ने औंल्याए ।
मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगानाले पर्यापर्यटनमा बाघलाई उपयोग गरेर अर्थतन्त्र बलियो बनाउन सकिने धारणा राखे । “पारिस्थितिक प्रणाली सन्तुलन राख्दै बाघको सन्तुलित उपभोग गर्नुपर्छ”, समितिका अध्यक्ष ढुंगानाले भने, “यसबाट अर्थतन्त्रमा ठूलो टेवा पुग्छ ।” सरकारले बाघको स्थानान्तरणमा मात्रै ध्यान दिएकाले यसको बासस्थानको विकासमा ध्यान केन्द्रित गर्नुपर्ने बाघ संरक्षण उपसमितिका अध्यक्ष तामाङले बताए ।
दुई दिने अभियानअन्तर्गत पहिलो दिन कपरफोरी मावि र मोहना माविमा सचेतना कार्यक्रम गरिएको छ भने दोस्रो दिन शुक्रबार मालपुर मावि र बछौली माविमा कार्यक्रम गरिने छ । उपसमितिका अध्यक्ष तामाङको अध्यक्षतामा भएको कार्यक्रममा कपरफोरी माविका प्रधानाध्यापक विष्णु कट्टेल, टिकौली मध्यवर्ती सामुदायिक वनका लेखा सदस्य राजेन्द्र आचार्यलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सो विद्यालका कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुलाई लिभिङ वीथ टाईगरका परियोजना अधिकृत प्रकाश चापागाईंले बाघको अवस्था, बाघको जीवशास्त्र, बाघ र मानवबीचको द्वन्द्व न्यूनीकरणमा विद्यार्थीको भूमिका विषयमा सहजीकरण गरेका थिए ।